माडी माध्यमिक विद्यालयद्वारा कक्षा ११ मा बिज्ञान बिषयको भर्ना खुला

447
SwadeshPost

माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयले दश जोड दुई तहमा बिज्ञान बिषयको भर्ना आह्वान गरेको छ ।

माडी नगर शिक्षा समितिको बैठकले माडी माध्यमिक विद्यालय, बसन्तपुरमा बिज्ञान बिषयमा दश जोड दुई तह सञ्चालन गर्ने निर्णय गरेसंगै सो विद्यालयले भर्ना आह्वान गरेको हो । आज असार १३ गतेदेखि फारम वितरण हुने तथा आउँदो असार २२ गते आइतबार बिहान ११ बजे प्रवेश परीक्षा सञ्चालन गरिने विद्यालयले जनाएको छ । कक्षा सञ्चालन भने श्रावण पहिलो सातादेखि हुनेछ ।

यसअघि, शैक्षिक सत्र २०७६ मा दश जोड दुई तहमा बिज्ञान बिषय सञ्चालन हुने भएसंगै सो विद्यालयले प्रवेश परीक्षा तयारी तथा ब्रिजकोर्सका कक्षाहरु सञ्चालन गरेको थियो । सामुदायिक विद्यालयमै निःशुल्क रुपमा माडीमै बिज्ञान बिषयको पढाई हुने भएसंगै विद्यार्थीहरु पनि उत्साही र खुसी भएका छन् ।

यसैबिच, माडी माध्यमिक विद्यालयमा दश जोड दुई तहमा बिज्ञान बिषय सञ्चालन हुने भएसंगै आज विद्यालयले त्यसबारे अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । अनौपचारिक तवरबाट विद्यालय हाताभित्रै सञ्चालित सो अन्तरक्रिया कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै माडीका माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले माडी माध्यमिक विद्यालयमा बिज्ञान बिषयमा सञ्चालन सुरुवात हुन लागेको दश जोड दुई तहलाई सहयोग गर्न सबैमा अनुरोध गर्नुभयो । निःशुल्क रुपमा सञ्चालन हुने सो दश जोड दुई तहलाई माडी नगरपालिकाको पूर्ण सहयोग रहने उहाँको भनाई थियो ।

SwadeshPost