कृष्णनगर माध्यमिक विद्यालयले स्कुलको खर्च धान्न माछापालन गर्ने

167
SwadeshPost

बिना दरबन्दी ७ बर्षदेखि माध्यमिक तह सञ्चालन गरिरहेको पूर्वी माडीको कृष्णनगर माध्यमिक विद्यालयले स्कुलको खर्च धान्न माछापालन गर्न लागेको छ ।

आन्तरिक श्रोतबाटै २०६८ सालदेखि मा.वि. तह सञ्चालित सो विद्यालयको आन्तरिक आम्दानी बढाउन माडी नगरपालिकाको सहयोगमा करिब १० बिगाहा क्षेत्रफलमा माछा पोखरी निर्माण सुरु भएको हो । बिद्यालयको दीगो आयका लागि निरन्तर आयश्रोत बनाउने उद्देश्यले माडी नगरपालिका वडा नं. ९, कृष्णनगरस्थित मचानको छेउमा रहेको सार्वजनिक जमीनमा माछापोखरी खन्न थालिएको विद्यालयका प्रधानाध्यापक मुक्तिराम सुवेदीले जनाउनुभयो । हालसम्म १४० मिटर लम्बाई र ४० मिटर चौडाई भएको करीब ३६ कठ्ठा जलासय भएको पोखरी निर्माण पुरा भइसकेको र सोही बराबरको अर्को पोखरी निर्माण सुरु हुन लागेको विद्यालयले जनाएको छ ।

कृष्णनगर माध्यमिक विद्यालयबाट हालसम्म ६ वटा ब्याचले प्रवेशिका तह उत्तीर्ण गरिसकेका छन् । २०७० सालबाट विद्यालयले माध्यमिक तहको सम्बन्धन प्राप्त गरेको हो तर माध्यमिक तहको दरबन्दी भने अझै पाउन सकेको छैन । आन्तरिक श्रोतबाट शिक्षक राख्नुपर्दा विद्यालयलाई ठूलो आर्थिक भार रहेकोमा माछापोखरीको आयबाट त्यसलाई कम गर्न सघाउ पुग्ने विद्यालयले विश्वास लिएको छ ।

SwadeshPost