

दुग्ध विकास संस्थान अन्तरगत माडीको बरुवामा सञ्चालित चिस्यान केन्द्रका प्रमुख दिनेश यादव सम्पर्क विहीन भएका छन् ।
हिँजो (बुधबार) बिहान करीब ३ः३० बजेबाट सम्पर्क बिहीन भएका उनको दिनभर तथा
गएरातीसम्मै खोजी गर्दापनि फेला पार्न नसकिएको माडी नगरपालिका वडा नं. १
का वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । मोटो जीउज्यान भएका,
गहुँगोरो वर्णका, कपाल फुलेका, घाँटीमा रुद्राक्षको माला लगाएका यादव बिहान
घरबाट भागी सम्पर्क बिहीन भएका हुन । घरबाट भाग्दै गर्दा यादवले हाफ
पाइन्ट मात्रै लगाएका थिए भने र खुट्टामा जुत्ताचप्पल केहि पहिरिएका थिएनन्
।
राती करीब ११ः३० बजे चिस्यान मेसिन बन्द गरी सुत्न गएका
यादवले आफूबाट ‘ब्लण्डर’ भएको सुनाउँदै श्रीमतीलाई गोजीमा भएको पैसा र
मोबाइल थमाएर बाहिरिन खोजेका थिए । तर श्रीमती एवं चिस्यान केन्द्रका
कर्मचारीले बुधबार बिहान २ः३० सम्म केन्द्र अगाडिको चौतारीमा बसी कुराकानी
गरी यादवलाई सुत्न फर्काएका थिए । मानसिक औषधी समेत खानेगरेका यादव
त्यसपश्चात केहि बेर सुतेर पुनः उठी घरबाट बाहिरिएका हुन् ।
यादवलाई दिनभर स्थानीय प्रहरी र जनप्रतिनिधीहरुले भैरवपुर, गर्दी र वरपरका
सबै क्षेत्रहरुमा खोजी गरेको भएपनि यो समाचार प्रकाशित गर्दासम्म भेटिएका
छैनन् । सामान्यतः जंगली जनावरहरु रहने भैरवपुरको काँसघारी र रीउ नदी
वरपरको झाडीहरुमा खोज्न बाँकी रहेको र त्यो क्षेत्रमा आज बिहानैदेखि
हात्तीको प्रयोग गरी उनको खोजी गरिने वडाध्यक्ष पौडेलले जनाउनुभयो ।


