सर्प र सर्पदंश व्यवस्थापन सम्बन्धी एक दिवसिय शैक्षिक गोष्ठी माडीमा सम्पन्न

340
SwadeshPost

सर्पदंशको घटना भइरहने माडी उपत्यकामा बिषालु सर्पसम्बन्धी चेतना फैलाउन सके यसबाट हुने हताहती घटाउन सकिनेमा जोड दिइएको छ । नेपालमा चिकित्सकीय महत्वका सर्पहरु र सर्पदंश व्यवस्थापन सम्बन्धी एक दिवसिय शैक्षिक गोष्ठीमा बोल्दै जर्मनीको फ्रयाँङ्कफर्ट विश्वविद्यालयबाट सर्पकै बिषयमा विद्याबारिधी गर्नुभएका डा. देव प्रसाद पाण्डेले सर्पदंशको घटनाबाट मृत्यु र अंगभंग हुने घटना न्यूनिकरणका लागि सामुदायिक सचेतनामा जोड दिनुभएको हो ।

माडी नगरपालिकाको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रशिक्षकका रुपमा बोल्दै डा. पाण्डेले सर्पका प्रजाति, बिषालु सर्पका प्रकार, पाइने स्थान, त्यसले टोकेमा हुने लक्षण र सर्पले टोकिहालेमा गरिने प्राथमिक उपचारबारे जानकारी गराउनुभएको हो । माडी र ठोरी लगायत मध्य तराई क्षेत्रमा सर्प र सर्पदंश सम्बन्धी जानकारी विद्यालयको पाठयक्रममा समेत समावेश गरि सर्पहरुबारे चेतना प्रवाह र यसको संरक्षणको आवश्यकताबारे जानकार बनाउनुपर्ने उहाँको भनाई थियो ।

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका वडाध्यक्षहरु, नगरपालिका अन्तरगतका बिषयगत शाखाहरुको प्रमुख, राजनैतिक पार्टीका प्रतिनिधी, शैक्षिक संस्थाहरुका प्रतिनिधी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु गरी कुल ६५ जनाको सहभागिता रहेको थियो । माडी क्यापसको सभाहलमा सञ्चालित सो कार्यक्रम नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रविण भण्डारीले सञ्चालन गर्नुभएको थियो ।

SwadeshPost