बेपत्ता यादवको खोजीका लागि ८ वटा हात्ती सहितको टोली परिचालित

138
SwadeshPost

दुग्ध विकास संस्थानद्वारा सञ्चालित बरुवा चिस्यान केन्द्रका प्रमुख दिनेश यादव बेपत्ता भएको करीब एक साता पुग्न लाग्दा पनि भेटिएका छैनन् । गत असार १८ गते एकाबिहानै घरबाट भागीहिँडेका यादवको खोजीका हप्तैभर खोजी अभियान चलाउँदा समेत यादव फेला नपरेका हुन् ।

बेपत्ता यादवको खोजीका लागि ८ वटा हात्ती सहितको टोलीले बनकट्टा, अमिलिया, रतनी धोबाहा तथा निकुञ्ज छेउका सम्पूर्ण गाउँबस्ती, झाडी र काँसघारीहरुमा खोजी गरेको हो । त्यसैगरी नेपाली सेनाको बनकट्टा पोष्टका क्याप्टेन काली बहादुर हमाल र माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेल नेतृत्वको टोलीले निकुञ्जभित्र तथा परशुराम कुण्डसम्मै खोजी गरेको थियो ।

यादवको व्यापक खोजी गर्दा समेत नभेटिएकाले उनी कहिँकतै लुकिबसेको हुनसक्ने आशंका बढेको छ । यसअघि पनि घरबाट भाग्ने गरेका उनले मानसिक स्वास्थ्यका औषधीहरु लिने गरेको परिवार श्रोतले जनाएको छ ।

SwadeshPost