नदी नियन्त्रणका लागि दबाव दिन माडीबासीहरुले अपनाए बिल्कुलै फरक शैली

400
SwadeshPost

स्थानीय सरकारलाई रीउ नदी नियन्त्रणका लागि दबाव दिन माडीबासीहरुले बिल्कुलै फरक शैली अपनाएका छन् । नगरपालिका कार्यालयमा डेलिगेसन वा हड्ताल केहिपनि नगरी सिधै खोलामै पुगी कोदालो र बेल्चाको भरमा खोलाको किनार खन्न सुरु गरी पश्चिमी माडीका स्थानीयहरुले नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

रीउको धार बदल्न नगरप्रमुखलाई अनुरोध गर्दापनि त्यस कार्यमा नगरपालिकाको ध्यान नपुगेको भन्दै माडीको पाण्डवनगर, बनकट्टा र द्रौपतिनगरबासीहरु एकाबिहानै बाढीग्रस्त खोलामै भेला भई नदीको बहाव बदल्न खन्न सुरु गरेका थिए । स्थानीयबासीहरुसंगै माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेलसंगै वडा सदस्यहरु र पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा बासु लगायतको समेत सहभागिता रहेको देखिएको थियो ।

बाढी प्रभावित क्षेत्रका बासिन्दाहरु आफै खोलाको बहाव मोड्न भिँडेको खबर पाएसंगै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै नेकपा माडीका नेताहरु रीउ नदीमै पुगेका थिए । रीउको बगरबाटै नगरप्रमुख ढकालले फोनमार्फत चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र चितवनका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी नगरपालिकाको जे.सि.बी.मार्फत खोलाको घरान फेर्न लगाउनुभएको थियो । त्यसपश्चात नदीको किनारमा जे.सि.बी.ले पानीको बाइपास खन्न सुरु गरेको छ ।

SwadeshPost