माडी नगर क्षेत्रमा पहिलो पटक स्टारकप फुटबलबाट घुम्ती शौचालय प्रयोगमा

668
SwadeshPost

माडी नगर क्षेत्रमा पहिलोपटक घुम्ती शौचालय प्रयोगमा ल्याइएको छ । स्टार स्पोर्टस् क्लब, बरुवाले सञ्चालन गरेको २५ औं स्टारकप फुटबल प्रतियोगिताबाट पहिलोपटक घुम्ती शौचालय प्रयोगमा आएको हो ।

खुला ठाउँहरुमा खेलकुद लगायतका सार्वजनिक वा भीडभाड हुने कार्यक्रम आयोजना गर्दा शौचालयका रुपमा कालो अपारदर्शी प्लास्टिक बेर्नुपर्ने बाध्यताको अन्त्य गर्न स्टार स्पोर्टस् क्लबले घुम्ती शौचालय निर्माण गरेको हो । घुम्ती शौचालय निर्माणका लागि माडी नगरपालिका वडा नं १ ले ३ लाख रुपैँया प्रदान गरेको हो ।

घुम्ती शौचालयको प्रयोगबाट सार्वजनिक स्थानको सरसफाई तथा भीडभाड हुने कार्यक्रमहरुमा शौच व्यवस्थापनमा सहज हुने क्लबका सचिव टिकाराम सुवेदी बताउनुहुन्छ । राजेश थपलियाको संयोजकत्व र अर्जुन श्रेष्ठको प्राविधिक सहयोगमा घुम्ती शौचालय निर्माण भएको हो । स्टार कपबाहेक अन्य कार्यक्रमहरुमा पनि सो शौचालय प्रयोग गर्न सकिने क्लबले जनाएको छ ।

SwadeshPost