दिवाकर स्मृति विद्यालय रमाइलोडाँडालाई ‘एक विद्यालय एक नर्स कार्यक्रम’

508
SwadeshPost

माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडामा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ सञ्चालन आउने भएको छ ।

प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयले सञ्चालन गर्ने यो कार्यक्रम माडी नगरक्षेत्रमा पहिलोपटक दिवाकर स्मृति विद्यालयमार्फत कार्यान्वयमा आउन लागेको माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो । माडी नगरपालिकाले जनकल्याण मा.वि. कल्याणपुर, जनजीवन मा.वि. खरकट्टा, माडी मा.वि. बसन्तपुर र दिवाकर स्मृति विद्यालयलाई सो कार्यक्रम सञ्चालनको सिफारिस गरेकोमा प्रादेशिक सामाजिक विकास मन्त्रालयले दिवाकर स्मृति विद्यालयलाई छनौट गरेको प्रवक्ता सुवेदीको भनाइ थियो ।

त्यस्तै, माडी नगरपालिका कार्यपालिकाको बैठकको १३ बुँदे निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता सवेदीले माडी नगरपालिकाले वडा नं ६ मा अनाथ तथा बिपन्न विद्यार्थीहरुलाई आवासीय रुपमा शिक्षा प्रदान गर्न नमुना छात्रावास संचालन सुरु गरेको जनाउनुभयो । साविकको नवदूर्गा आधारभूत विद्यालयको भवनमा सञ्चालन थालिएको सो छात्रवासको उचित व्यवस्थापनका लागि कार्यविधि निर्माण गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा सामाजिक विकास समिति संयोजक, छात्रावास समितिको तर्फबाट अध्यक्ष सहित २ जना र शिक्षा शाखा प्रमुख वा प्रतिनिधि सदस्य रहनेगरी कार्यदल गठन गरिएको पनि उहाँले सार्वजनिक गर्नुभयो ।

बैठकका अन्य निर्णयहरुमा, माडी नगरपालिका वडा नं. ९ मा विद्यालयका लागि खनिएको माछापोखरीको संचालन तथा व्यवस्थापन गर्न कृष्णनगर माध्यमिक विद्यालयलाई भोगाधिकार दिने, नगरपालिकाले खनेका पोखरीहरु टेण्डरमार्फत ठेक्का दिने र नगरपालिकाको लागि १ वडा हलुका सवारी र २ वटा ट्रिपर खरिद गर्नका लागि जलस्रोत तथा सिंचाई विभागबाट तयार पारिएको स्पेशिफिकेसन स्विकृत गर्ने लगायत रहेको पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिइएको हो ।

SwadeshPost