रवि लामिछाने समर्थकहरुको प्रदर्शन चर्कदैं गर्दा भरतपुरको सुरक्षा व्यवस्था कडा

353
SwadeshPost

रवि लामिछाने समर्थकहरुको प्रदर्शन चर्कदैं गर्दा जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको सुरक्षा व्यवस्थामा कडाई गरेको छ । आज सोमबार बिहानैदेखि जिल्ला प्रहरी कार्यालय र चितवन जिल्ला अदालत वरपर चारकिल्ला तोक्दै प्रशासनले एकै ठाउँमा भेला नहुन आदेश गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी आदेशमा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदा गर्न खोजे कडा कारवाही गर्ने उल्लेख गरिएको छ । यसअघि आइतबार लामिछाने समर्थकहरुले ठूलो प्रदर्शन गरेका थिए भने साँझपख रवि समर्थक र प्रहरीबीच झडप हुँदा दुबैतर्फका गरी एक दर्जनबढी घाइते भएका थिए । पुडासैनी प्रकरणमा आत्महत्याका लागि दुरुत्साहन मुद्धा लागेका रवि लामिछाने र युवराज कँडेलको बयान आज नै हुँदैछ ।

यसैबिच, लामिछाने समर्थकहरुको प्रदर्शन व्यवस्थापन गर्न नसकेर हैरान भएको चितवन प्रहरीलाई आज सोमबारकै लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको चितवन बन्दले झनै दबावमा पारेको छ । पूर्वी चितवनको राप्ती नगरपालिका-११ को आहोलेवाङ्गं भन्ने गाउमा सो पार्टीले निर्माण गरेको प्रतिक्षालय प्रहरीले भत्काएको विरोधमा नेकपाले आज सोमवार चितवन वन्दको आवहान गरेको हो । बन्दको पूर्वसन्ध्यामा पूर्वी चितवनको खैरहनीमा बम बिस्फोट भएको थियो । बिस्फोटबाट कुनै मानविय र भौतिक क्षति भने नभएको प्रहरीको भनाई छ ।

SwadeshPost