पत्रकार रवि लामिछाने धराैटीमा छुटेसंगै समर्थकहरुद्वारा खुसीयाली प्रकट

106
SwadeshPost

चितवन जिल्ला अदालतले पाँच लाख रुपैंया धरौटीसहित तारिखमा रिहा गरेसंगै पत्रकार रवि लामिछानेका समर्थकहरुले चितवनमा खुसीयाली मनाएका छन् । लामिछाने पक्राउ परेसँगै लगातार ११ दिनसम्म समर्थकहरुले चितवनमा विरोध प्रदर्शन गर्दै आएका थिए । उहाँको रिहाइसँगै समर्थकहरुले सामाजिक सञ्जालहरुमा पनि खुसीयाली व्यक्त गरिरहेका छन् ।

यसैबिच, शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता लामिछानेले यसबारे कार्यक्रम चलाउन भने नपाउने हुनुभएको छ । साथै उहाँले विदेश जाँदा चितवन जिल्ला अदालतको स्वीकृती लिनुपर्नेछ । त्यस्तै, धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र शुद्ध तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको छ ।

जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेर रिहा गरेको हो । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको हो ।

SwadeshPost