नक्कली फेसबुक खोली अरूको दुष्प्रचार गर्ने र अश्लिल पोस्ट गर्ने क्रम बढ्दो

1.01K
SwadeshPost

चितवन । देशैभर सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइ.डी. खोलेर दुष्प्रचार गर्ने, डर धम्की दिने तथा अश्लिल अभिव्यक्ति र तस्बिर पोस्ट गर्ने क्रम बढेको छ । सामाजिक सञ्जालको दुरुपयोग हुनेगरी कुनै व्यक्ति, सेलिब्रेटी वा संघसंस्थाको नाउँमा नक्कली फेसबुक पेज, प्रोफाइल वा ग्रुप बनाई जथाभावी पोष्ट गर्ने क्रम उच्च भएको हो ।

केहि दिनअघि चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक आइडी खोली ‘अश्लिल स्टाटस’ राखिएको भन्दै चितवन प्रहरीले ध्यानाकर्षण भएको जनाएको थियो । त्यसअघि, एक महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनेर स्टाटस राखेको आरोपमा चितवन प्रहरीले एकजनालाई पक्राउ गरेको थियो । त्यस्तै, फेसबुकको म्यासेन्जरमा अश्लिल म्यासेज पठाएको भन्दै माडी प्रहरीले एकजनालाई पक्राउ गरेको थियो भने पुडासैनी प्रकरणका समयमा फेसबुकबाटै प्रचण्ड र रेणु दाहाललाई गालीगलैज गरेका आरोपमा माडीकै अर्का एक युवा व्यवसायी पक्राउ परेका छन् । नेकपा सम्बद्ध एक युवा नेता नेतालाई नक्कली फेसबुक आइडीबाट ज्यान मार्ने धम्की आएको प्रकरण अहिले चर्चामै छ ।

यसप्रकारका घटनामा दैनिक रुपमा दर्जनौंको संख्यामा उजुरी आउने गरेको चितवन प्रहरीले जनाएको छ । तर सामाजिक सञ्जालबाट हुने अपराधको अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने जिम्मेवारी पाएका प्रहरीका उच्च तहका अधिकारी नै पीडित हुनेगरी सामाजिक सञ्जाल विकृत हुन थालेसंगै यसको व्यवस्थापन र नियमनका लागि केन्द्रीय तहबाटै पहल हुनुपर्ने आवाज उठ्न थालेको छ ।

SwadeshPost