कुसुमखोलाकी लालिमाया चेपाङद्वारा ११ औं शिशुको जन्म

335
SwadeshPost

कुसुमखोलाकी लालिमाया चेपाङले ११ औं शिशुको जन्म दिइन । ८ दिनअघि उनले कुसुमखोलास्थित घरमै ११औं सन्तानका रुपमा छोरा जन्माएकी हुन् तर केवल १.५ किलोग्राम तौलको ।

आँखा समेत नखुलिसकेको सो शिशुले आमाको स्तनपान गर्न पाएन, कारण हो, ५० कटिसकेकी लालिमायाको शरीरले दुध बनाउनै सकेन । लालिमायाका बिपन्न श्रीमान काजीमान चेपाङले जन्मँदै कुपोषण भएको सो शिशु पनि मर्ने आँकलन गरे र शिशुको खासै वास्ता गरेनन् । सुत्केरी भएको छैठौं दिनदेखि लालिमाया पूर्ववत काममा लागिन, मेलापात गर्न थालिन । शिशुलाई घरमै दिदीहरुले कुरेर बसिरहे ।

माडीको विकट कुसुमखोला गाउँमा रहेको चेपाङ समुदायका लागि यो एक साधारण कुरा थियो, चलिआएको चलनजस्तै । तर, कुसुमखोला गाउँ पुगी मासिक खोप शिविर सञ्चालन गर्ने हेल्पिङ सोसाइटी नेपालका अध्यक्ष टिकाराम आचार्यलाई यो घटनाले विक्षिप्त बनायो र उहाँले तुरुन्तै शिशुलाई दुधपानको तथा सुत्केरी आमाका लागि दुध बन्न सघाउने पौष्टिक आहाराको व्यवस्था गर्नुभयो । हाल शिशुले दुध पिउन सुरु गरेको छ र उसको अवस्था सुधारोन्मुख समेत छ ।

यसअघि, हेल्पिङ सोसाइटी नेपालले माडी नगरपालिका वडा नं. ९ स्थित कुसुमखोलाका अन्य दर्जनौं परिवारमा यस्तैखाले सहयोग गरेको छ भने त्यहाँका स्कूल जाने उमेरका बालबालिकाहरु ल्याएर एक छात्रवास सञ्चालन गरी निःशुल्क रुपमा आवासीय तवरबाट पढाउँदै समेत आएको छ । हालै सो छात्रबासलाई माडी नगरपालिकाले भौतिक निर्माणमा सघाएसंगै अझै धेरै बालबालिकाहरुलाई शिक्षाको उज्यालो प्रदान गर्न आफूहरुलाई हौसला मिलेको अध्यक्ष आचार्यको टिप्पणी छ ।

SwadeshPost