माडीमा पनि डेङ्गुको बिरामी भेटिए, बघौडा अस्पतालले निःशुल्क डेङ्गु परीक्षण

445
SwadeshPost

माडी उपत्यकामा पहिलोपटक डेङ्गु रोगको बिरामी भेटिएको छ । बघौंडा अस्पतालमा ज्वरोको उपचार गर्न आएका एकजना पुरुषमा डेङ्गु पोजेटिभ भेटिएको अस्पतालका मेडिकल अफिसर डा. शशि टण्डनले जानकारी दिनुभयो ।

भरतपुरमा रहँदा कुखुराको खोरभित्र काम गरेका उनमा डेङ्गु पहिचान भएको हो । लगातार तीन दिनसम्म ज्वरो आएसंगै उनी सो अस्पतालमा उपचारका लागि आएका थिए । तर उनको रगतमा प्लेटलेट्सको मात्रा राम्रो रहेकाले अस्पतालमा भर्ना नगरी घरमै आराम गर्न पठाइएको अस्पतालका मेडिकल अफिसर डा. टण्डनले जनाउनुभयो ।

यसैबिच, बघौडा अस्पतालले डेङ्गु रोगको निःशुल्क परीक्षण सुरु गरेको छ । डेङ्गु परीक्षणका लागि रु ८०० खर्च लाग्ने भएपनि माडी नगरपालिका जनस्वास्थ्य शाखाको सहयोगमा अस्पतालले निःशुल्क डेङ्गु परीक्षण आरम्भ गरेको हो । डेङ्गु संक्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न र फोहर नगर्न तथा इन्सेक्टिसाइड छरेर डेङ्गुको संक्रमणबाट जोगिन अस्पतालले अनुरोध गरेको छ ।

SwadeshPost