मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी

136
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी बढ्न थालेको छ । गत २०७१ सालमा निर्वाचित कार्यसमितिको पदावधी आउँदो मंसिर ४ गते सकिन लाग्दा नयाँ नेतृत्वको लागी आन्तरिक दौडधुप बढ्न लागेको हो ।

निकुञ्ज अन्तरगत चितवन, मकवानपुर, नवलपुर र पर्साका २२ वटै उपभोक्ता समितिहरुमा उपभोक्ता समितिको नेतृत्व पाउन आकंक्षीहरु लगिपरेको देखिएको हो । यसका लागि प्रमुख राजनैतिक दलहरुले समेत भित्री रुपमा जनपरिचालन बढाएका छन् भने नेतृत्वका आकंक्षीहरु सेटिङ मिलाउन व्यस्त देखिएका छन् ।

माडी उपत्यकामा तीनवटा उपभोक्ता समिति र एकवटा उपसमिति रहेकोमा सबैमा समूह गठनको चटारो बढेको छ । बघौंडा उपभोक्ता समितिले अधिकांश समूहहरुको गठन पुरा गरिसकेको छ भने रेवा उपभोक्ता समिति, कल्याणपुर र पाँचपाण्डव उपभोक्ता समिति, गर्दी अन्तरगतका समूहहरु पुनर्गठनको काम जारी रहेको छ । उता, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति अन्तरगतका समूहहरुको पुनर्गठनको काम आउँदो साता सुरुवात हुन लागेको छ । समूहका अध्यक्ष र सचिवले आफ्नो इकाई प्रतिनिधी छान्ने र सो प्रतिनिधीबाटै उपभोक्ता समितिको पदाधिकारी चयन हुने भएकाले सबैको ध्यान समूहस्तरमा केन्द्रीत भइरहेको हो ।

SwadeshPost