माडीमा निरन्तर पानी परिरहँदा बर्षाले चेतावनीको तह पार, सचेत रहन आग्रह

124
SwadeshPost

गएरातीबाट माडी क्षेत्रमा निरन्तर पानी परिरहँदा माडीमा बर्षाले चेतावनीको तह पार गरेको छ । माडीको बनकट्टामा पछिल्लो १२ घण्टामा २०६ मिलिमिटर बर्षा भएको छ भने पछिल्लो २४ घण्टामा २२५ मिलिमिटर बर्षा भएको छ । त्यसैगरी कल्याणपुर क्षेत्रमा पछिल्लो २४ घण्टामा १५३ मिलिमिटर बर्षामापन गरिएको छ ।

हाल बर्षा रोकिएको भएपनि भोलि साँझसम्मै बर्षा हुने क्रम चलिरहने मौसमबिद्हरुको भनाई छ । बर्षा जारी रहेको सन्दर्भमा सबैलाई सुरक्षित रहन र सुचनामा रहन माडी नगरपालिकाले माडीबासीहरुलाई आग्रह गरेको थियो । बर्षाका कारण माडीका केहि गाउँहरुमा डुबान भएको छ । मुख्यतः पश्चिमी माडीका विभिन्न गाउँठाउँमा अत्यधिक बर्षा भएकाले बरुवा, सेरुवा, रेवाटोल, बनकट्टा लगायतका गाउँहरुमा डुबान भएको हो ।

अविरल बर्षाका कारण माडी उपत्यका र आसपासका क्षेत्रहरुमा बग्ने खोला खहरेहरुमा साना तथा मझौला स्तरका बाढी आएका थिए । माडीका मगोई, चितई, बाँदरमुढे, रिमाल, परुई, घाँघर, बगहीँ आदि खोला खहरेहरुमा पनि पानीको बहाव बढेको हो । बाढीका कारण नारायणगढ माडी ठोरी हुलाकी सडक समेत दिनभरजसो अवरुद्ध रह्यो । बिहान र दिउँसो ठप्प रहेको माडी ठोरी भरतपुर सडक साँझपखदेखि भने सुचारु भएको छ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण मनसुनी गतिविधि केही सक्रिय भएको मौसमबिद्हरुको भनाई छ ।

SwadeshPost