लालकाजी : जसले माडीमा पहिलो पटक कटेज रेष्टुरेण्ट सुरु गरे (फिचर)

174
SwadeshPost

त्यसबखत माडीमा स-साना रेष्टुरेष्ट र खाजा घरहरु थिए तर सभाहलयुक्त व्यवस्थित कटेज खुलिसकेका थिएनन् । कुनै कार्यक्रम गर्नुभपर्ने भए विद्यालयको कक्षाकोठा खोज्दै हिँड्नु वा खुला ठाउँमा गर्नुको बिकल्प थिएन । बरुवाका लालकाजी क्षेत्री भने त्यसबखत भर्खरैमात्र चारबर्षे बैदेशिक रोजगारी सकेर घरमै कुखुरा र बंगुरपालन गर्दै थिए ।

मासु बेच्ने व्यवसाय समेत गरिरहेका लालकाजी मासु डेलिभरीका लागि माडीका खाजा घर र रेष्टुरेन्टहरुमा पुगिरहन्थे । त्यहाँ कहिलेकाँही सरकारी त कहिले गैरसरकारी संस्थाका कर्मचारीहरु आएर माडीमा राम्रो खानेबस्ने ठाउँ नभएको गुनासो गरेको उनको कानमा पर्दथ्यो । यसैबाट उनलाई नयाँ व्यवसाय सुरुवातको प्रेरणा मिल्यो र माडीमै पहिलोपटक एउटा कटेज रेष्टुरेण्ट सञ्चालनमा आयो, माडी कटेजको नाउँमा ।

श्रीमती यशोदा क्षेत्रीसंग मिली उनले सुरुवातमा बाँसले बारेर सभाहलसहितको कटेज बनाए । त्यहाँ सेवाग्राहीहरुको आगमन बढ्न थाल्यो र क्षेत्री दम्पत्तीलाई नगद आयसंगै स्याबासी पनि मिल्न थाल्यो । कटेजले साँस्कृतिक कार्यक्रम र अन्य इभेन्टहरु समेत आयोजना गरी व्यवसाय बढाउँदै लग्यो । संगै माडीमा अन्यत्र पनि सभाहलयुक्त कटेज मोडेलका रेष्टुरेण्टहरु खुल्न थाले । यसबाट माडीको पर्यटन व्यवसाय प्रवर्द्धनमा उल्लेख्य योगदान पुग्यो ।

हालै क्षेत्री दम्पत्तीले पुरानो संरचना भत्काई वातानुकूलित मोडेलको कटेज निर्माण गरेका छन् । यो संगै सेवा बढाउँदै लैजाने लालकाजीको योजना रहेको छ । कटेजबाटै सन्तानको लालनपालन र शिक्षादीक्षाको खर्च धानेको यो दम्पत्ती आफ्ना व्यवसायमा खुसी र सन्तुष्ट छ । प्रवास रगत पसिना बगाउनुभन्दा स्वदेशमै मिहिनेत गरे राम्रो आयआर्जन गर्न सकिने लालकाजीको सुझाव छ ।

SwadeshPost