१२१ देखि १२३ बर्षका फ्रान्सेली बृद्धबृद्धाहरू माडीमा स्कुल भवन बनाउँदै

495
SwadeshPost

मधेशी, मुस्लिम र थारु बाहुल्य विद्यार्थीहरु अध्ययनरत माडीको रतनी गाउँस्थित आधारभूत विद्यालयमा फ्रान्सेली नागरिकहरुले ६ कोठे नयाँ स्कुल भवन निर्माण गरिदिन लागेका छन् ।

१२१ देखि १२३ बर्ष उमेरका चारजना फ्रान्सेली नागरिकहरुले शेर्पालय ट्रष्ट काठमाडौंमार्फत नयाँ स्कुल भवन निर्माण गरिदिन लागेका हुन् । बाढी प्रभावित क्षेत्रका बालबालिकाहरुलाई शिक्षा दिइरहेको सो विद्यालय नयाँ ठाउँमा स्थानान्तरण भएसंगै कक्षाकोठाको अभाव रहेको छ । हाल ६ कोठे एउटा दुईतले भवनबाट पठनपाठन जारी रहेकोमा सोही भवनको डिजाइन स्टीमेट अनुसार नै फ्रान्सेली बृद्धबृद्धाको सहयोगमा नयाँ ६ कोठे भवन निर्माण हुन लागेको हो ।

विद्यालय भवन निर्माणका लागि फ्रेन्च बृद्धबृद्धाहरुले १ करोड ४९ लाख रुपैंया पठाइसकेका छन् । त्यसमध्ये १ करोड १० लाखको लागतमा विद्यालय भवन निर्माण हुने र बाँकी रकम लजिस्टीक तथा अन्य शीर्षकमा खर्च हुने विद्यालयका प्रधानाध्यापक वीरेन्द्र चौधरीले जानकारी दिनुभयो । विदेशी नागरिकको सिधा सहयोगमा हुन लागेको सो भवन निर्माण कार्यलाई काठमाडौंस्थित समाज कल्याण परिषद्, केन्द्रीय आयोजना कार्यान्वयन ईकाई र शिक्षा मन्त्रालयले यसैसाता स्वीकृति प्रदान गरेको हो । भवन निर्माण कार्य आउँदो साता सुरु हुने विद्यालयले जनाएको छ ।

भवन निर्माण हुन लागेको स्थानमा १२ कठ्ठा ७ धुर जमीन दिवंगत कृष्णबन्धु पियाले विद्यालयको नाउँमा दानस्वरुप प्रदान गर्नुभएको थियो । पहिले विद्यालय रहेको रीउ नदी नजिकैको स्थानमा १५ कठ्ठा १८ धुर जमीनसहित भवन संरचनाहरु रहेको र विद्यालयले त्यसको संरक्षण गरिरहेको प्रधानाध्यापक चौधरीको भनाई छ ।

संगिता घताने, स्वदेश एफ.एम.

SwadeshPost