ई.प्र.का. माडीले घरेलु मदिरा उत्पादन, बिक्रीवितरण र सेवनमा कडाई गर्ने

286
SwadeshPost

ईलाका प्रहरी कार्यालय माडीले घरेलु मदिरा उत्पादन, बिक्रीवितरण तथा सेवनमा कडाई गर्ने भएको छ । माडी प्रहरीको नेतृत्वमा हालै प्रहरी निरीक्षक हर्क बहादुर बि.क. खटिनुभएलगत्तै प्रहरीले घरेलु मदिरा नियन्त्रणको अभियान सुचारु गर्न लागेको हो ।

समुदाय प्रहरी साझेदारी अन्तरगत माडीको बरुवा बजारमा आयोजित परिचय तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रहरी निरीक्षक बि.क.ले सो अभियानबारे जानकारी दिनुभएको हो । वडाध्यक्ष ईश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यमा सञ्चालित सो कार्यक्रममा बरुवा तथा साविक गर्दी केन्द्रीत विभिन्न संघसंस्था र निकायहरुका प्रमुख, प्रतिनिधी र बजारबासीहरुको सहभागिता रहेको थियो ।

यसैबिच, माडीको रतनीस्थित आधारभूत विद्यालयबाट कम्प्युटर र व्यार्टी चोरी प्रकरणमा माडी प्रहरी अभियुक्तहरुको नजिकै पुगिसकेको जानकारी मिलेको छ । चोरी गर्ने क्रममा अभियुक्तहरुले व्याट्रीभित्रको एसिड खन्याएर फालेका थिए । पोखिएको एसिड भुँइभरी छरिएकोमा त्यसमै टेकेर भागेका अभियुक्तहरुको पैतालाको स्पष्ट निशानी भुँइभरी छापिएको हो । पैतालाको छापका आधारमा उनीहरु तीनजनाको संख्यामा रहेको देखिएको छ । पैतालाको छाप पछ्याउँदै तालिम प्राप्त कुकुरसहितको माडी प्रहरी अभियुक्तहरु नजिक पुगेको हो । फरेन्सिक ल्याबबाट पैतालाको छाप मिलेको प्रमाणित भई आएलगत्तै कारवाहीको कानुनी प्रक्रिया अगाडि बढ्ने प्रहरी श्रोतले जनाएको छ ।

SwadeshPost