फुबर महतो एक किसान हुन् (फिचर)

407
SwadeshPost

फुबर महतो एक किसान हुन् । थारु जातका उनले चितवनको माडीस्थित पौहारी गाउँमा खेतीपाती गर्छन, बाख्रा पनि पाल्छन् । पहिले बाक्लो बस्ती रहेको उनको गाउँमा अहिले २-३ घरपरिवारको मात्रै बसोबास छ, बाँकी बसाइँ सरिसके । पटक पटकको बाढीले हैरान बनाएकाले बसाईं सरेकाहरु शिविरटोलमा बस्छन् र ज्याला मजदुरी गरी पेट पाल्छन्, लालाबाला हुर्काउँछन् ।

फुबरको घरको पूर्वपट्टी मगोइ खोला बग्छ र उत्तरपट्टी रीउ नदी सुसाउँछ । दक्षिण र पश्चिमपट्टी चाँही भ्यागुते घोल छ, बाढी आउँदा सहजै मान्छे डुबाउने गहिरो । बर्षायाम पानी पर्नासाथ चारैतिरबाट बाढीको घेराबन्दी हुन्छ उनको घरमा । बाढी नआउँदै खोला तरेमा ज्यान जोगिन्छ, नत्र त्यस्तै हो ।

तर आजकल उनलाई नयाँ समस्या थपिएको छ । साँझ पर्नासाथ उनको घरवरपर हात्ती र गैंडा देखापर्ने समस्या । हुन त कतिपयका लागि घरवरपर हात्ती आउनु भनेकै डलर भित्रिनु पनि हो, तर फुबरका लागि भने श्वास नै रोकेर घरभित्र लुक्नुपर्ने अवस्थाको सिर्जना हुनु हो । कयौंपटक उनको घरमै हात्ती आएर धान खाएर विनाश गरेको छ, अनि धेरैपटक चितुवा र बाघले उनको हाँस कुखुरा र बाख्रा लतार्दै निकुञ्जतिर लगेको छ । निरक्षर रहेका उनले यसको लेखाजोखा राख्नै छाडीसके ।

चर्को मुल्य चुकाएर उनले लगाएका धान, मकै र अन्य बाली निकुञ्जको जनावरको मीठो खाना बन्ने गरेको धेरै भइसक्यो । हुन त कानुनमा त्यसको लागि राहतको व्यवस्था पनि छ भन्ने सुनेका छन्, तर उनलाई त्यसको खासै अर्थ छैन । महिनौं लाग्ने नयाँ झण्झट जो छ ।

जंगली जनावरहरु छेक्न मध्यवर्ती उपभोक्ता समितिहरु तथा नगरपालिकाले सोलार फेन्स र मेसजाली नलगाएको हैन, तर हात्ती गैंडाको अगाडि ती निष्प्रभावी छन्, सजिलै भत्किन्छन् । त्यसैले आजकल दिनहुँ जसो जंगली हात्ती गाउँ घरमै आइपुग्छ, घरमा राखिएको अन्नको भण्डार तथा भकारीमा छापा मार्छ, भेटेमा खाएर सिध्याउँछ, नभेटे घरछेउको धानबारी छँदैछ । फुबरलाई मनपर्ने स्वदेश एफ.एम.ले त्यसबारे समाचार पढ्छ र उनले सुन्छन् अनि फिस्स हाँस्छन् । दुखद् कुरा चाँही प्रचण्डको ‘मणी’ उपत्यकामा यो क्रम चलिरहनेछ भन्ने उनलाई राम्ररी थाहा छ ।

#अपेक्षा चौधरी । ४ असोज, २०७६, दिउँसो १२:४५ मा प्रकाशित

SwadeshPost