सवारी चेकिङ्ग हुँदा २ वटा ट्याक्टर र ११ वटा मोटरसाइकल कारवाहीमा

105
SwadeshPost

ईलाका प्रहरी कार्यालय माडीले सवारी चेकिङ्गमा कडाई गरेको छ । आज शनिबार दिउँसो भएको सवारी चेकिङ्गका क्रममा २ वटा ट्याक्टर र ११ वटा मोटरसाइकल चालकलाई कारवाही गरिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

कारवाहीमा परेका २ वटा ट्याक्टर चालकहरुमध्ये एकले मादक पदार्थ सेवन गरी सवारी चलाएको र अर्कोसंग कागजात नभेटिएको जनाइएको छ । त्यस्तै, दुईभन्दा धेरैजना चढी मोटरसाइकल चलाएका तथा कागजपत्र नभएका मोटरसाइकल चालकहरु कारवाहीमा परेका हुन् । ११ मध्ये ६ जना चालकहरुलाई जरिवाना काटिएको र बाँकी ५ वटा मोटरसाइकल कारवाहीका सिलसिलामा प्रहरी कार्यालयमा राखिएको माडी प्रहरी प्रमुख बि.क.ले जानकारी दिनुभयो ।

यसैबिच, ईलाका प्रहरी कार्यालय माडीका प्रमुख बि.क.ले आज मातहतका प्रहरीहरुलाई आचरण सुधार्न निर्देशन दिनुभएको छ । सिपाहीका कारण कहीँकतै कुनै समस्या सिर्जना भए प्रहरी ईञ्चार्जलाई कारवाही गरिने उहाँको निर्देशन थियो । त्यसैगरी दशैं तिहार पर्वको सन्दर्भमा पेट्रोलिङ बढाउन, घरेलु मदिरा, जुवातास र जथाभावी मापसे नियन्त्रण गर्न र सवारी चेकिङ बढाउन पनि उहाँले निर्देशन जारी गर्नुभएको हो ।

SwadeshPost