माडी नगरपालिकालाई सहुलियत ब्याजदरको ऋणबारे अख्तियारको पत्र

296
SwadeshPost

माडी नगरपालिकाले साना किसान कृषि सहकारीहरुमार्फत उपलब्ध गराएको सहुलियत ब्याजदरको ऋण बिचौलियाहरुले दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जवाफ मागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले माडी नगरपालिकालाई अति जरुरी र गोप्य छाप लगाइएको पत्र पठाई सहुलियत ब्याजदरको ऋणबारे प्रश्न गरेको हो । नगरपालिकाको सिफारिसमा साना किसान कृषि सहकारी संस्थाहरुले कृषकहरुलाई उपलब्ध गराएको ऋणमध्ये केहि रकम बिचौलियाहरुले दुरुपयोग गरेको तथा सम्बन्धित परियोजना भन्दा बाहिर लगानी भएको अख्तियारको आशंका छ ।

अख्तियारको पत्र पाएसंगै नगरपालिकाले साना किसान कृषि सहकारीहरुमार्फत प्रवाह भएको ऋणको विवरण प्रकाशित गरी कार्यालयमा टाँसेको छ । त्यसैगरी नौ वटै वडाध्यक्षहरु आ–आफ्ना वडामा सहुलियत व्याजदरको ऋणबाट कृषकहरुले गरेको पशुपालन कार्यको तथ्यांक र विवरण संकलन गर्न खटिएका छन् । केहि वडाध्यक्षले त्यसको विवरण सामाजिक सञ्जालबाट प्रकाशित समेत गरेको छन् ।

नगरपालिकाले बिना धितोमा एक लाखसम्म तथा धितोसहित पाँच लाख रुपैंयासम्मको सहुलियत ऋण उपलब्ध गराउन साना किसान कृषि सहकारीहरुलाई सिफारिस गर्ने निर्णय रहेको भएपनि कतिपय कृषकलाई २० लाखसम्म ऋण प्रवाह भएकोले पत्र काटिएको अख्तियार निकट श्रोतको भनाई छ । अख्तियारको पत्रसंगै नगरपालिकाले सहुलियत व्याजदरको ऋण सिफारिस सम्बन्धी सबै कामहरु स्थगित गरी जवाफ पठाउने तयारी गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिनुभयो ।

SwadeshPost