जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकी पञ्चमाया तामाङको शव उठ्यो

382
SwadeshPost

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकी माडी द्रौपतिनगरकी बृद्धा पञ्चमाया तामाङको शव उठेको छ । स्थानीयबासी र पीडित परिवारका तर्फबाट पेश गरिएका मागहरु निकुञ्ज प्रशासनले सम्बोधन गर्ने प्रतिबद्धता जनाएपश्चात शव उठाउन परिवारजन सहमत भएका हुन् ।

पीडित समुदायका तर्फबाट ज्यानमारा हात्तीलाई डार्ट गरी नियन्त्रणमा लिएर चिडियाखानामा राखिनुपर्ने, पीडित परिवारका कम्तीमा एकजनालाई रोजगारीको व्यवस्था हुनुपर्ने, जंगली हात्ती लगायतका जनावरहरु आइरहने शंवेदनशील क्षेत्रमा विद्युतिकरण हुनुपर्ने, निकुञ्ज छेउमा तटबन्धन र ड्याम सहित तारबारको व्यवस्था हुनुपर्ने र जंगली जनावर प्रभावित क्षेत्रमा रात्री गस्ती गरिनुपर्ने लगायतका माग राखिएकोमा निकुञ्ज प्रशासनले सम्भव हदसम्म सम्बोधन गर्ने प्रतिबद्धता जनाएसंगै शव उठेको स्थानीयबासी पदम लामाले जनाउनुभयो ।

शवको पोष्टमार्टम बघौंडा अस्पतालका चिकित्सकहरुको टोलीले द्रौपतिनगरमै गर्ने समेत सहमती भएको छ । माडी नगरपालिकाकी नगरउपप्रमुख ताराकुमारी काजी महतो, वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेल र पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा बासुको उपस्थितिबिच स्थानीय पीडित र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालबिच सो सहमती भएको हो ।

यस प्रकारका हताहतीको घटनामा निकुञ्जका तर्फबाट मृतकको परिवारलाई १० लाख रुपैंया क्षतीपूर्तिस्वरुप दिने व्यवस्था रहेको छ । त्यसैगरी माडी नगरपालिकाले कार्यपालिका बैठकको निर्णयबाट तत्कालका लागि क्रिया खर्च स्वरुप मृतकका परिवारलाई रु.२५ हजार रुपैयाँ प्रदान गर्ने तथा मृतकका आफ्नै छोराछोरी कक्षा १२ भन्दा तल अध्ययनरत भए शैक्षिक कोष स्वरुप रु. ५ लाख प्रदान गर्ने व्यवस्था गरेको छ ।

SwadeshPost