देश-प्रदेश खबर पोष्ट

हात्ती धपाउन मा खटिएका सैनिकहरु रातभर मचानमा सुत्ने गरेको फेला

चितवन राष्ट्रिय निकुञ्जबाट निक्लने जंगली हात्ती धपाउन गाउँलेहरु रातभर जाग्राम रहँदा हात्ती धपाउने गस्तीको मुख्य जिम्मेवारी पाएका सैनिकहरु भने रातभर मचानमा सुत्ने गरेका छन् ।

जंगली हात्तीको बथान हरेक दिन साँझ पर्नासाथ निकुञ्ज नजिकका बस्तीहरुमा धान खान बाहिर निक्लने गरेको छ । बर्षभर खाने बाली जोगाउन स्थानीय गाउँलेहरु रातभर ट्रयाक्टर चढी टर्चलाइट र लठ्ठीको भरमा हात्ती निक्लिएतर्फ टर्च बाली दौडदै र होहल्ला गर्दै हात्ती धपाउँछन् । यसका लागि गाउँमा पालो लगाई अनिवार्य रुपमा हात्ती धपाउन जानैपर्ने नियम बनाइएको छ । तर हात्ती निक्लँदा त्यसलाई धपाउने गस्ती गर्ने जिम्मेवारी पाएका सैनिकहरु भने माथिको आदेशको पर्खाई गर्दै मचानमाथि सुतेर रात बिताउने गरेको भेटिएको हो । हाल निकुञ्जको सुरक्षामा सेनाको बटुक दल गण खटिएको छ ।

स्वदेश एफ.एम. र कान्तिपुर मिडिया हाउसको संयुक्त पत्रकार टोलीले गएरात माडीका विभिन्न स्थानमा पुगी गरेको स्थलगत रिपोर्टिङ्गका क्रममा सो अवस्था भेटिएको हो । हातहतियारले सुसज्जित सैनिकहरु हात्ती धपाउन ट्रयाक्टरसहित खटिएका स्थानीयबासीहरुको टोलीमा सहभागी भइदिए मात्रैपनि मनोबल बढ्ने र मानव तथा वन्यजन्तुबिचको द्वन्द न्यूनिकरणमा सघाउ पुग्ने टोलीको अपेक्षा रहने गरेको छ । निकुञ्ज प्रशासनले समेत गस्तीमा सेनाहरु परिचालन भइरहेको बताउने गरेको छ ।

हात्तीहरु बस्ती छिर्दा बालीनालीसंगै मानवीय हताहती समेत हुँदै आएको छ । टोलीसंग पर्याप्त सुरक्षा व्यवस्था नहुँदा गतबर्ष हात्ती धपाउन खटिएका एकजना किशोरलाई हात्तीले मारेको थियो भने केहि दिनअघि मात्रै हात्तीको आक्रमणम माडीको द्रौपतिनगरमा एक बृद्धाले हात्तीको कारण ज्यान गुमाएकी थिइन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार