

माडीका सम्पूर्ण दुर्गा मन्दिर र शक्तिपीठहरुमा दशैंको अवसर पारी नवदूर्गाको विशेष पूजाआजा जारी रहेको छ ।
बडादशैंको सन्दर्भमा नेपाल भारत सीमावर्ती क्षेत्रस्थित सोमेश्वर गढीस्थित
कालीका मन्दिरमा यसबर्ष पहिलोपटक नवदूर्गा पूजा सञ्चालन भइरहेको छ ।
सोमेश्वरगढी पूजा व्यवस्थापन समितिको आयोजनामा गत घटस्थापनाको दिनदेखि
सोमेश्वर गढीमा नवदूर्गाको पुजा अर्चना जारी रहेको हो । पूजामा
माडीबासीहरुसंगै भारतीय भक्तजनहरु समेत आउने गरेको समितिका अध्यक्ष पिताम्बर पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरी माडीको देवेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा रहेको नवदूर्गा
मन्दिरमा भजन कीर्तन सहितको पूजा जारी रहेको तथा जगन्नाथपुरमा रहेको दूर्गा
मन्दिरमा समेत नवरात्री पूजा भइरहेको युवा पण्डित सुदर्शन सुवेदीले
जनाउनुभयो । माडीकै स्याउलीबासस्थित नवदूर्गा मन्दिर र कीर्तनपुरमा रहेको
कात्यायनी नवदूर्गा मन्दिरमा समेत दुर्गा पूजा एवं भजनकीर्तन भइरहेको
कात्यायनी मन्दिर निर्माणका अभियन्ता घनश्याम भण्डारीले जानकारी दिनुभयो ।
दुर्गा मन्दिरहरुसंगै माडीका विभिन्न स्थानमा नवदूर्गाको मुर्ती स्थापना
गरी नवदुर्गाको पूजा एवं भजनकीर्तन भइरहेको छ ।


