‘यहाँ मर्ने त हामी गरिबहरु नै हो नि !’ (फिचर न्यूज)

404
SwadeshPost

शुकराम महतो माडीको एक माध्यमिक विद्यालयमा ९ कक्षामा पढ्दैछन् । स्कुलमा दोश्रो त्रैमासिक परीक्षा चलेको छ, तर उनी घरमा बसेर जाँचको तयारी गर्नुको साटो घर पछाडी रहेको निकुञ्ज छेउमा चिच्याउँदैछन् ।

उनको साथमा अरु केहि गाउँलेहरु पनि छन्, कोहि बयस्क त कोहि उनीजस्तै किशोर उमेरकै । आधा दर्जनको संख्यामा रहेको उनीहरुको साथमा छ, ट्रेलर नजोडिएको एउटा ट्रयाक्टर । उनीहरुले खुट्टामा गमबुट लगाएका छन् अनि साथमा लठ्ठी अनि टर्चलाइट समाएका छन् ।

सुकरामलाई पढ्न मन नभएर यसरी बरालिएका भने होइनन्, यो त उनको बाध्यता हो । खेतमा बर्षभरी खाने धानबाली लगाएका उनीहरुको धान चितवन राष्ट्रिय निकुञ्जबाट निक्लिने जंगली हात्तीको बथानले खाएर सखाप पार्न थालेसंगै त्यसलाई जोगाउन हात्ती धपाउने गस्तीमा खटिएका हुन उनी । यसरी रातभर गस्ती गर्न गाउँलेहरुले पालो लगाएका छन्, आज उनको पालो परको हो । तीन दिनपछि फेरि उनको परिवारको पालो दोहोरिन्छ ।

शुकरामको बुझाईमा पहिले पहिले निकुञ्जभित्र घाँसे मैदानको व्यवस्था राम्रो थियो अनि गाउँलेहरुले खरखडाई काटेर नयाँ र ताजा घाँस उब्जने व्यवस्था गरिदिन्थे । यसबाट गाउँलेहरु, निकुञ्ज र जनावरहरु सबैलाई फाइदा पुगेकै थियो । तर आजकल गाउँलेहरु वनमा जान पाउँदैनन् तर जनावरहरु खानाको खोजीमा बस्तीतिर छिर्न छेकिँदैनन् । त्यसैले अहिले मान्छे र वन्यजन्तुविचको लडाई धेरै बढेको, जनावरले धेरै बालीनाली खाइदिएको, घरहरु भत्काइदिएको र उनको साथी रवि महतो लगायत धेरैजनालाई मारिदिएको शुकरामको भनाई छ ।

जंगली हात्ती लगायतका हिंस्रक जंगली जनावरहरुलाई धपाउन ज्यानै जोखिममा राखी शुकरामहरु जंगल छेउमा ट्रयाक्टरसंगै कुदिरँदा माडीबाहिर बस्ने ठूला बडा हाकिमहरुलाई जनताको ज्यानको मतलबै नभएको उनीहरुको गुनासो छ । माडीबाट चुनावमा उठ्दा प्रचण्डले जनावरबाट ज्यान जोगाइदिने बोलेको तर जितेर गएपछि केहिपनि नगरेको उनको भनाई छ । नजिकै हात्ती आइपुगेपछि ट्रयाक्टर स्टार्ट हुँदैगर्दा उनले भन्न भ्याए, ‘ठूलाबडा र नेताहरु भरतपुरतिरै घर बनाएर सरिसके । यहाँ मर्ने त हामी गरिबहरु नै हो नि ।’

SwadeshPost