३ बर्षभित्र चितवनको बाटोमा धुलो नउड्ने प्रण गरेको प्रचण्डकाे जिकिर

126
SwadeshPost

पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो ३ बर्षभित्र माडीसंगै चितवनको कुनैपनि बाटोमा धुलो नउड्ने व्यवस्था गर्न आफूले प्रण गरेको बताउनुभएको छ ।

१६ औं दिवाकर भुसालको सोह्रौं स्मृति दिवसको अवसरमा नेकपा (चितवन)द्वारा आयोजित दिवाकर भुसाल स्मृतिग्रथ विमोचन तथा भुसालको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

माडीको विकास गर्नु निकै सम्वेदनशील र चुनौतीपूर्ण रहेको उहाँको भनाई थियो । निकुञ्जसंग रातोपिरो हुनेगरी बहस भएको र बहसका क्रममा आफूले प्रधानमन्त्री के.पी. वलीलाई आफू माडीबासी जनताको बिचमा गई आन्दोलनमा सहभागी हुने चेतावनी दिएको पनि उहाँले स्मरण गर्नुभयो । चितवन राष्ट्रिय निकुञ्जभित्र राम्रो पिच, आकाशेपुल वा भूमिगत मार्ग मध्ये कुनै एक बनाइने उहाँले बताउनुभयो ।

माडीलाई मणी बनाउने आफ्नो चुनावी प्रतिबद्धता स्मरण गर्दै उहाँले माडीका बिषयमा सेना र निकुञ्जसंग निरन्तर छलफल गरेको, १२ वटा पुलहरुको टेण्डर भएको, निकुञ्जभित्रको आवतजावत तुलनात्मकरुपमा सहज भएको र माडीको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार भएको बताउनुभयो । रीउ नदी नियन्त्रण र बन्यजन्तुको बस्ती प्रवेश रोक्न करिडोर बनाउने काम सुरु हुन लागेको तथा २०२९ सालको निकुञ्ज ऐन शंसोधनको प्रक्रियामा रहेको पनि उहाँको भनाई थियो ।

SwadeshPost