एक दशकदेेेखि बस्ती स्थानान्तरणको पर्खाइमा माडीका सिमराबासीहरु

164
SwadeshPost

माडी नगरपालिका ३ सिमरामा बसोबास गर्दै आएका करीब १०० घरधुरी करीब १ दशकदेखि सुरक्षित स्थानमा स्थानान्तरणको पर्खाइमा रहेका छन् । सरकारी पक्षबाट अपेक्षित सहयोग नहँुदा तथा सम्बन्धित निकायले पहलकदमी नलिँदा बस्ती स्थानान्तरण अन्योलमा परेको हो ।

करीब एक दशकअघि, वि.सं. २०६४ भाद्र १२ गते पूर्व सांसद तीर्थराज भुसाल, तात्कालीन नेकपा माओवादीका नेताद्वय पिताम्बर पोख्रेल र बाबुराम दवाडी, तात्कालीन जनमोर्चा नेपालका नेता ठाकुर प्रसाद ढकाल र नेकपा एमालेका प्रतिनिधी लगायतले केन्द्रीय दैवी प्रकोप व्यवस्थापन समितिलाई बस्ती स्थानान्तरण गरिदिन पत्र लेखेको थियो ।

सिमरा गाउँमा रीउ नदीले बर्षेनी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । तीनतिर राष्ट्रिय निकुञ्ज र एकतर्फ रीउ नदीबाट घेरिएको माडीको सिमरा गाउँमा रीउ नदीको बाढीबाट भएको कटान तथा डुबान हुँदै आएको छ । त्यसैगरी निकुञ्जबाट निस्कने जंगली जनावरको आतंक बढ्ने क्रममा रहको छ ।

बस्ती व्यवस्थापनको लागि पटक पटक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्राचार गरी सम्बन्धित मन्त्रालय र निकायमा ताकेता गर्दापनि ठोस निर्णय नआउँदा सिमराबासीहरुले अझैसम्म न्यायको अनुभुती गर्न पाएका छैनन् । आफ्नो पहुँच नहँुदा जति नै नेताहरुलाई गुनासो गरेपनि, जति नै मन्त्रालय पुगेपनि सिमरा गाउँबासिको समस्या र पिडालाई बेवास्ता गरिएको स्थानिय सुकिया महतोले गुनासो गर्नुभयो ।

रीउ नदीको अति किनारमा रहेको सिमरा वस्तीमा बसोबास गर्ने अधिकांश आदिबासी अति विपन्न परिवारका बालबच्चाहरु पठनपाठनका लागि विभिन्न परिस्थितिहरुलाई झेल्दै रिउ नदी पार गरेर आउन बाध्य छन् । बर्षातको समयमा झन् खोलामा बाढी आउने र कांसका झाडीहरु बढ्ने हुँदा आँफुलाई विद्यालय जान समस्या मात्र नभई डर लाग्ने गरेको माडी माध्यामिक विद्यालयमा अध्यनरत सिमराकी छात्रा अरुणा महतोले बताउनुभयो । सिमराबासिहरुले भोग्नुपरेका वास्तविक समस्याहरुको पहिचान गरि आवश्यक ठोस निर्णय गर्न माडी नगरपालिका र सम्बन्धित वडाका जनप्रतिनिधीहरुले भुमिका खेल्नुपर्ने जरुरी देखिन्छ ।

SwadeshPost