लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा समावेश गरकोमा माडीमा समेत बिरोध प्रदर्शन (भिडियो)

226
SwadeshPost

नेपालको लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा समावेश गरकोमा माडीमा समेत बिरोध प्रदर्शन सुरु भएको छ ।

माडी क्याम्पसका विद्यार्थीहरुले आज बिहान माडीको बसन्तपुर बजारमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा विद्यार्थीहरुले ‘भारतीय बिस्तारवाद मुर्दावाद’, ‘गो ब्याक इण्डिया’, ‘सीमा अतिक्रमण बन्द गर’ लगायतका नारा लगाएका थिए । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो सीमाभित्र समेटी नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसंगै नेपालभर युवा एवं विद्यार्थीहरुले सडक प्रदर्शन गरिरहेका छन् भने सामाजिक सञ्जालमार्फत पनि सबैले बिरोध गरिरहेका छन् ।

दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले गत शनिबार (कार्तिक १६) सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको हो । जम्मू-कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको थियो । भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरा तर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको छ ।

यसैबिच, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय दूतावास घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । ग्रेटर नेपालका मोर्चाका संयोजक फणिन्द्र नेपालले नेपाली भूमि भारतमा सामेल गराएर नक्सा सार्वजनिक गर्नु भारतको हेपाहा प्रवृति र नेपाल सरकारको लाचारीपन भएको बताउँदै शुक्रबार साढे ११ बजे भारतीय दूतावास घेराउ गर्ने जनाउनुभयो ।

SwadeshPost