बर्षाका कारण अस्थायी आवासमा रहेका माडीका पूर्व कुसुमखोलाबासी चेपाङहरु प्रभावित

383
SwadeshPost

मंगलबार साँझबाट परेको बर्षाका कारण अस्थायी आवासमा रहेका माडीका पूर्व कुसुमखोलाबासी चेपाङहरु प्रभावित भएका छन् ।

बाँस र खरले बनेका त्यहाँका घरहरु चुहिनुका साथै लत्ताकपडा र अन्नअनाज भिजको र बच्चाहरु चिसोका कारण समस्यामा परेको पीडितहरुको भनाई छ । बर्षाका कारण खरकट्टा र देबेन्द्रपुर क्षेत्रमा रहेको चेपाङ समुदाय ज्यादा प्रभावित भएको हो । सो समुदायको स्थायी व्यवस्थापनको काम अधुरो नै रहेकाले बाढी र बर्षाबाट ज्यादा समस्यामा पर्दै आएको छ ।

पछिल्लो २४ घण्टामा सिन्धुलीपछिको सर्बाधिक बर्षा माडी क्षेत्रमै भएको छ । यो समाचार तयार पार्दासम्म माडीको हरिनगरमा ५२.६ मिलिमिटर बर्षामापन भएको छ । बर्षाका कारण माडीका खोला तथा खहरेहरुमा पानीको सतह बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन देशका मध्य तथा पूर्वी भूभागका साथै पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशका पूर्वी तथा पश्चिमी भूभाग नजिक बनेको न्युन चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

SwadeshPost