कोरोना नियन्त्रणको प्रयासमा माडी उपत्यकालाई लकडाउन गर्नेसम्मको योजना

193
SwadeshPost

चितवन । कोरोना भाइरस नियन्त्रणको प्रयासमा माडी नगरपालिकाले परिस्थिति अनुसार माडी उपत्यकालाई लकडाउन गर्नेसम्मका योजना बनाएको छ । स्वदेश एफ.एम.मार्फत कोरोना भाइरस नियन्त्रणका आगामी योजना र कार्यक्रमहरु सार्वजनिक गर्नुहुँदै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आवश्यक परे बनकट्टा, बगहीँ र अन्य सबै प्रवेशस्थलहरु सिल गरी माडी उपत्यकालाई लकडाउन गर्नेसम्मका योजना रहेको बताउनुभयो ।

हाल बगहीँमा कोरोना चेकजाँच क्याम्प सञ्चालनमा रहेको र आवश्यकता अनुसार माडीको मुख्य प्रवेशस्थल बनकट्टा पोष्टमा समेत नेपाली सेनासंगको सहकार्यका चेकप्वाइन्ट स्थापना गर्न तयारी गरिएको नगरप्रमुख ढकालले जनाउनुभयो । कोरोना नियन्त्रणको प्रयासमा फिभर क्लिनिक स्थापना भएको, आइसोलेशन वार्ड बनिसकेको, एम्बुलेन्स र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको र गाउँगाउँमा सचेतना अभियान चलाउन थालिएको उहाँले बताउनुभयो । माडीको सोमेश्वर, चैनपुर, सितलपुर लगायतका छिद्र प्रवेशस्थलहरुमा आजबाटै जनपद प्रहरी खटाइएको पनि उहाँले जानकारी दिनुभयो ।

यसैबिच, माडीको खरकट्टामा शंकास्पदका बिरामी भेटिएको भनी गलत हल्ला चलाइएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । त्यसप्रकारका कुनै केश नदेखिएको भन्दै गलत हल्ला फैलाउनेलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय भइसकेको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

SwadeshPost