क्याम्पसको भवनमा क्वारेन्टाइनमा रहेका २२ जना अब होम क्वारेन्टाइनमा

153
SwadeshPost

चितवन । माडीको बसन्तपुरस्थित माडी क्याम्पसको भवनमा क्वारेन्टाइनमा रहेका २२ जनालाई आज साँझ होम क्वारेन्टाइनमा पठाइन लागिएको छ ।

भारतको दिल्ली, मु्म्बई लगायतका शहरहरुबाट घर फर्किदै माडी आइपुगेका उनीहरुलाई गएसाँझबाट माडी क्याम्पसको भवनमा सुरक्षित तवरबाट दुई हप्ते क्वारेन्टाइनमा राखिएको थियो । तर उनीहरुको व्यवस्थापनमा समस्या भएको र जिल्ला प्रशासन कार्यालयले होम क्वारेन्टाइनमा राख्ने नीति बनाएको सन्दर्भमा दोश्रो दिनमै होम क्वारेन्टाइनमा पठाउन लागिएको हो । घर पठाउनुअघि उनीहरुको स्वास्थ्य परीक्षण गरिने र होम क्वारेन्टाइन सम्बन्धी १५ बुँदे नियमहरुबारे प्रशिक्षण दिइँदैछ ।

होम क्वारेन्टाइनमा बस्नेहरुले कोठामा एक्लै बस्नुपर्ने, कसैसंग भेट्नुपर्दा कम्तीमा १ मिटरको दुरी कायम गर्नुपर्ने, बसेको कोठा आफै सफा गर्नुपर्ने, नियमित हात धुने, भाँडाकुँडा कपडा आदि एकल प्रयोग गर्नुपर्ने र खोक्दा रुमालले मुख छोप्नुपर्ने लगायतका नियम पालन गर्नुपर्ने हुन्छ । यसबाहेक दैनिक रुपमा शरीरको तापमान नापेर फारम भर्नुपर्ने र क्वारेन्टाइन बसेको घरबाट बाहिर निक्लन नपाइने तथा स्वास्थ्य संस्थाबाट प्राप्त अन्य निर्देशनहरु पालना गर्नुपर्ने व्यवस्था रहेको छ ।

SwadeshPost