खाद्यजन्य पसल दिउँसो १२ देखि ४ बजेसम्म र स्वास्थ्य सेवा २४सै घण्टा खुला रहने

267
SwadeshPost

माडी नगरक्षेत्रमा अत्यावश्यकीय खाद्यान्न, तरकारी, फलफूल तथा पशुपंक्षी आहारको पसल हरेक दिन मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म खुला रहने भएका छन् । त्यसैगरी मेडिकल, अस्पताल, दुग्धजन्य तथा पानी पसल र भेटेरिनरी औषधी पसल भने चौबिसै घण्टा खुला रहने छन् ।

देशव्यापी लकडाउनका कारण अत्यावश्यकीय चिजबिजका लागि समस्या पैदा नहोस् भन्ने हेतू सो निर्णय गरिएको माडी नगरस्तरीय कोरोना रोकथाम समन्वय समितिले जनाएको छ । यसका साथै स्वास्थ्य, सुरक्षा, प्रशासन, मिडिया, दमकल, दुध र खानेपानीका सवारी साधन निर्वाध सञ्चालन गर्न पाइने पनि समितिको निर्णय छ ।

यसैबिच, कोरोना बिरुद्धको राष्ट्रव्यापी लकडाउनको पहिलो दिन अत्यावश्यकीय सेवा क्षेत्रभित्रै सुचिकृत भई दैनिक केहि घण्टा खुला रहनैपर्ने बैंकहरु भने आज बन्द रहेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनको बर्खिलाप हुनेगरी माडीमा रहेका सबैजसो बैंकहरुले सेवा बन्द गरेको देखिएको हो । माडीमा रहेका सहकारी, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुमा समेत सेवा बन्द रहेको छ । लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि माडी नगरस्तरीय कोरोना रोकथाम समन्वय समितिले माइकिङ गर्दै घरभित्रै बस्न नगरबासीहरुलाई अनुरोध गरेको थियो ।

SwadeshPost