माडीमा १०० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेशन वार्ड बनाइने

434
SwadeshPost

कोरोनाको संक्रमण नियन्त्रणका लागि माडी माध्यमिक विद्यालय र माडी क्याम्पसको भवन प्रयोग गरी १०० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेशन वार्ड बनाइने भएको छ ।

माडी नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले माडी क्षेत्रमा संक्रमण नियन्त्रणका लागि तत्कालै क्वारेन्टाइन निर्माण र आइसोलेशन वार्ड थप गर्ने निर्णय गरेको हो । त्यसैगरी तरकारी, मासु र दुग्धजन्य पसल व्यवसायहरु बिहान ८ देखि १० बजेसम्म तथा दिउँसो ४ देखि साँझ ६ बजेसम्म खुला हुन दिइने पनि निर्णय गरिएको छ ।

त्यसैगरी, कोभिड १९ नियन्त्रण अभियानमा सघाउन विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग घोषणा गरिरहेको अवस्थामा त्यसलाई व्यवस्थापनका लागि रेडक्रसकर्मी भागिरथ बस्यालको संयोजकत्वमा माडीका चारवटै रेडक्रस उपसमितिहरु सम्मिलित सहयोग समिति गठन गरिएको छ । साथै स्वास्थ्यकर्मीहरुका लागि आवश्यक पि.पि.ई. र आधारभूत औषधी खरिदका लागि माडी नगरपालिकाबाट तत्कालै रकम निकाशा गर्ने र लकडाउनको कारण उद्योग व्यवसायमा गम्भीर असर परेकाले घरभाडा छुट गरिदिन माडीका व्यवसायीहरुलाई आग्रह गर्ने पनि निर्णय गरिएको नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिका संयोजक ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।

SwadeshPost