

माडीसंगै निकुञ्ज वरपरका विभिन्न गाउँहरुमा लगातार १५ जनाको ज्यान लिएको ध्रुबे हात्तीलाई दाह्रा काटी रेडियो कलर जडान गरेर पुनः निकुञ्जमा छाडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष-जैविक विविधता संरक्षण केन्द्र, सौराहाको संयुक्त प्रयासमा शुक्रबार सो भाले हात्तीको दाह्रा काटी, रेडियो कलर जडान गरी छाडिएको हो । अब सो हात्तीको गतिविधी अनुगमन गरी चितवन आसपासका समुदायमा यसले गर्न सक्ने क्षति न्यूनिकरणमा सहयोग पुग्ने केन्द्रको भनाई छ ।

गत २०६६ साल माघदेखि मान्छेलाई आक्रमण गरी ज्यान लिन थालेको ध्रुबेले माडी र यस वरपरका बस्तीमा एकपछि अर्को गरी १५ जनाको ज्यान लिएपछि चितवन माडीको अवस्था आतंकपूर्ण रहँदै आएको छ । २०६९ सालको पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले सो हात्ती मार्न आदेश दिएको भएपनि निकुञ्जले कार्यान्वयन नगरी उत्तेजना कम हुने औषधी इन्जेक्ट गरेको थियो । समुदायमा भने ध्रुबे मरिसकेको भ्रम फिँजाइएकाले स्थानीयबासीमा केहि राहत महसुस भएको थियो ।

तर त्यसको पाँच वर्षपछि पत्रकारहरुको टोली अगाडि सुखिभार जंगलमा ध्रुबे देखापरेपछि ध्रुबेको आतंक पुनः सुरु हुनसक्ने भय बढेको छ । यद्यपि हाल ध्रुबेमा पहिलेको आवेग र हिंस्रक स्वभाव नभएको निकुञ्जको दावी छ ।