लकडाउनको समयमा माडीको कृषि शाखा नयाँ योजना र कार्यक्रमहरु सार्वजनिक गर्दै

171
SwadeshPost

चितवन । लकडाउनको समयमा अधिकांश सरकारी कार्यालयहरुको कामकारवाही प्रभावित भइरहँदा माडी नगरपालिकाको कृषि शाखाले भने एकपछि अर्को गरी नयाँ योजना र कार्यक्रमहरु सार्वजनिक गरिरहेको छ ।

जारी साता कृषि शाखाले अनुदानमा भकारो सुधार कार्यक्रमका लागि प्रस्ताव संकलन, व्यवसायिक कागती खेती गर्न चाहने कृषक र कृषि समूहलाई अनुदानका लागि आवेदन ग्रहण र सहकारी सिंचाई एवं साना सिंचाई मर्मत तथा निर्माणका लागि कृषि समूहहरुबाट प्रस्तावना बुझ्ने काम सुरु गरेको छ । त्यसैगरी पश्चिमी वायुको प्रभावका कारण चलेको हावाहुरी र परेको असिनापानीका कारण माडीका कृषकहरुले लगाएको बालीनालीमा पुगेको क्षतिको विवरण संकलनमा पनि सो शाखाले अग्रसरता देखाएको छ । यद्यपि कृषक वा कृषि समूहले गर्नुपर्ने आवेदनको समयसीमा भने लकडाउनकै अवधीभित्रै समेटिएकोले कृषकहरुलाई समस्या परेको हुनसक्छ ।

यसैबिच, कृषि शाखाले जारी गरेका योजनाहरुमा यसअघि कृषि शाखाबाट अनुदान लिइसकेका कृषक एवं कृषि समूहहरुलाई नदोहो-याउने नीति लिएको पनि देख्न सकिन्छ । यसबाट विगतमा एउटै योजना देखाई पटक पटक अनुदान लिँदै आएकाहरु रुष्ट हुने निश्चित छ । उनीहरुबाट प्रत्यक्ष र परोक्षरुपमा आउने दबाव झेल्दै शाखाका योजनाहरु लक्षित वर्गसम्म कत्तिको पुग्छ, त्यो भने हेर्न बाँकी नै छ ।

SwadeshPost