बाटो निर्माणमा खटिएका नगरपालिकाका जे.सि.बी. डोजरहरु स्थानीयबासीको बिरोधपछि फर्किए

269
SwadeshPost

माडी ७ देबेन्द्रपुरस्थित परुई किनारमा बाटो निर्माणका लागि पुगेका माडी नगरपालिकाका जे.सि.बी. डोजरहरु स्थानीयबासीको बिरोधपछि फर्किएका छन् ।

कुसुमखोलाबाट बसाई सरी परुई खोला किनारमा बसेका चेपाङ परिवारहरुको घरछेउबाट नयाँ बाटो निर्माणका लागि माडी नगरपालिकाले डोजर खटाएको थियो । तर स्थानीयबासीहरुले बिरोध गरेसंगै थप छलफल र वार्ताबाट विवाद समाधान गर्ने भन्दै नगरपालिकाले डोजर फिर्ता गरेको हो । बाटो निर्माणस्थलमा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र वडा नं. ७ का वडाध्यक्ष बालकृष्ण सापकोटासंगै सेना र प्रहरीको टोली समेत पुगेको थियो ।

कसैको भोगचलनमा नरहेको खोला छेउको वन क्षेत्र फँडानी गरी सुकुम्बासी चेपाङहरु त्यहाँ बसेको वडा कार्यालयको भनाई छ । गाउँलेहरुले भोगचलन गर्दै आएको ऐलानी जमीन २० मिटर छोडी बिचबाट बाटो बनाउने सहमती भएबमोजिम काम सुरु गर्न लागेपनि केहि स्थानीयले ४० मिटर छोडेर बाटो बनाउनुपर्ने माग राखेको वडाध्यक्ष बालकृष्ण सापकोटाले जनाउनुभयो । गाउँलेहरुले भने चेपाङ परिवारलाई राखिएको ठाउँ बाढीजन्य जोखिम क्षेत्र भएकाले सुरक्षित ठाउँमा सारिनुपर्ने माग गरेका हुन् । यस बिषयमा पटक पटक सर्वदलीय छलफल भइसकेको र अब पनि थप छलफल गरी निकास खोजिने वडाध्यक्ष सापकोटाको भनाई छ ।

SwadeshPost