माडी नगरपालिका कृषि शाखाद्वारा रासायनिक मलको अधिकतम् बिक्री मुल्य तोकियो

100
SwadeshPost

माडी नगरपालिका कृषि शाखाले रासायनिक मलको अधिकतम् बिक्री मुल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि समितिको बैठकले माडी नगर क्षेत्रभरी लागु हुनेगरी युरिया, डि.ए.पी. र एम.ओ.पी. (पोटास)को अधिकतम् बजार मुल्य तोकेको हो ।

तोकिएको मुल्य अनुसार युरिया, डि.ए.पी. र पोटासको ५० किलोग्राम तौलको प्रति बोरा अधिकतम् मुल्य क्रमशः रु. ८७५, रु. २,३५० र रु. १,७३० कायम गरिएको छ । त्यसैगरी सो मलहरुको खुद्रा बिक्री मुल्य क्रमशः रु. १९, रु. ४९ र रु.३७ भन्दा बढी लिन नपाउनेगरी कायम गरिएको कृषि शाखाले एक सुचनामार्फत जानकारी गराएको हो । त्यस्तै, मलको मुल्य सुची सबैले देखिने ठाउँमा टाँस गर्नुपर्ने र खरिद बिक्रीको अभिलेख दुरुस्त राख्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि बजारमा चर्को मुल्य तिरी रासायनिक मल खरिद गर्दै आएका कृषकहरुलाई यो निर्णयले ठूलो राहत पुग्ने देखिएको छ ।

तोकिएको अधिकतम् मुल्य सुचीभन्दा बढी मुल्यमा मल बिक्रीबितरण गरेको पाइएमा जरिवाना गरिनुका साथै ईजाजतपत्र खारेज गर्ने जनाइएको छ । नेपालमै पहिलोपटक माडीमा स्थानीय निकायमार्फत रासायनिक मलको अधिकतम् बजार मुल्य निर्धारणको निर्णय भएको हो । तर माडीको बजारमा यसअघि रासायनिक मल महंगो मुल्यमा बिक्रीवितरण हुनेगरेकोमा सोभन्दा निकै कम मुल्य तोकिँदा कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण नै देखिन्छ ।

SwadeshPost