दीपिका र दिपशीलाको रहस्यमय मृत्यु भएको ३ बर्ष पुरा÷ दोषी अझै पत्ता लाग्न सकेन

632
SwadeshPost

माडी नगरपालिका-६, रामराज्यपुरका दुई बालिकाहरु दीपिका सुनार र दिपशीला परियारको रहस्यमय मृत्यु भएको ३ बर्ष पुरा भएको छ । तर घटना भएको चौथो बर्ष लाग्दा समेत घटनाको सत्यतथ्य बाहिर आउन, दोषी पत्ता लाग्न र कानुनी कारवाही हुन सकेको छैन ।

चार बर्षअघि, २०७४ साल जेष्ठ २० गते बिहान १० बजेको समयमा रामराज्यपुरस्थित मजुवा सिंचाई पोखरीमा वनभोज खान गएका बालबालिकाहरुमध्ये माया सुनारकी छोरी वर्ष ११ की दीपिका सुनार र दिनेश परियारकी छोरी वर्ष १२ की दिपशीला परियार पोखरीमा डुबेको अवस्थामा फेला परेका थिए । घटनालगत्तै बघौंडा अस्पतालमा ल्याइएका उनीहरुको मृत्यु भएको पुष्टी भएको थियो । बालिकाहरुको गुप्ताङ्गबाट रगत बगेको र घटनास्थलको तत्कालीन अवस्था हेर्दा उनीद्वयको बलात्कार गरी हत्या भएको सबैको आशंका थियो ।

घटनाको अनुसन्धानका लागि पिकनिकमा संलग्न पाँचजनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाउँदै गर्दा माडीसंगै चितवनभर घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारवाहीको माग राखी प्रदर्शन भएको थियो । तर पोष्टमार्टम रिपोर्ट आउँदा भने बालिकाद्वयलाई पोखरीमा रहेका किराले टोकेको हुनसक्ने जस्ता अस्पष्ट र संकास्पद पक्ष उल्लेख गरी आयो । यसपश्चात अदालती प्रक्रिया अन्तरगत हेटौंडास्थित पुनरावेदन अदालतले प्रमाण नपुगेको भन्दै घटनालाई कर्तव्य ज्यान र जबरजस्ती करणी दुबै ठहर नगरी टुङ्ग्याइदिएको छ । र हालसम्म न त घटनाको सत्यतथ्य बाहिर आउन सकेको छ न कोहि सजायको भागिदार नै बनेका छन् ।

SwadeshPost