फोहोरलाई मोहरमा परिणत गर्ने माडी ३ नं. वडाकाे याेजना

134
SwadeshPost

माडीको बसन्तपुरस्थित कृषि उपज संकलन केन्द्रलाई बसन्तपुर बजारको अस्थायी फोहोर व्यवस्थापन केन्द्र बनाइएको छ ।

माडी नगरपालिका वडा नं. ३ को सरसफाई शीर्षक अन्तरगत ४ लाख रुपैंया लागतमा फोहोर व्यवस्थापनको अस्थायी केन्द्र स्थापना गरिएको हो । सो केन्द्रमा निर्मित माछापोखरीलाई कुहिने फोहोर जम्मा हुने ठाउँ बनाइएको छ भने कृषि उपज बिक्री हुने काउण्टरहरुलाई फुटेका शिशा, कागज, कार्टुन तथा अन्य फोहोर सामग्रीहरु वर्गिकरण गरी राख्ने स्थान बनाइएको छ । संकलित फोहोरलाई मोहरमा परिणत गरी मलखाद तथा कवाडका रुपमा बिक्री गर्ने तथा बिक्री नहुने फोहोरलाई खाडलमा गाड्ने योजना रहेको बसन्तपुर बजार सरसफाई समितिका अध्यक्ष भोलानाथ लामिछानेले जनाउनुभयो ।

बसन्तपुर बजारमा आउँदो असार ३ गतेदेखि प्रत्येक ३÷३ दिनको अन्तरमा गाडीमार्फत फोहोर संकलन गरिने बसन्तपुर बजार व्यवस्थापन समितिका अध्यक्ष शशिधर बरालको भनाई छ । त्यसैगरी प्लास्टिकजन्य फोहोरहरु हरेक शनिबार र अन्य नकुहिने फोहोरहरु हरेक महिनाको अन्तिम दिनमा संकलन गर्ने तालिका रहेको उहाँले जानकारी दिनुभयो ।

SwadeshPost