निकुञ्ज प्रशासनले अवरोध गरेको भन्दै माडीको सुकुम्बासी समुदाय आन्दोलित

325
SwadeshPost

माडी नगरपालिकाद्वारा सञ्चालित विभिन्न योजनाहरुमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले अवरोध गरेको भन्दै माडीको सुकुम्बासी समुदाय आन्दोलनमा उत्रिएको छ ।

नगरपालिकाबाट विनियोजित रु. ५ लाख बजेटबाट बाँदरझुलामा बाटो स्तरोन्नति भइरहँदा निकुञ्ज प्रशासनले काम रोक्न लगाई जे.सि.बी. फिर्ता गरिदिएको थियो । त्यसैगरी कुसुमखोलाबाट बिस्थापित भई माडी ७, ८ र ९ मा बसोबास गरिरहेका चेपाङ समुदायको आवास निर्माण जारी रहेकोमा निकुञ्जले काम रोकिदिएको छ । उता, वागमती प्रदेश सरकारद्वारा निर्माणाधीन माडी ९ को नमुना चेपाङ बस्तीमा बाटो निर्माण कार्यमा रोक लगाइएको छ ।

राज्यकै एक अंगले विकासे काम अगाडि बढाउने तर अर्को अंगले रोक्ने गरेको भन्दै माडीका सुकुम्बासी समुदाय सडक आन्दोलनमा उत्रिएका हुन् । निकुञ्जको अवरोध र हस्तक्षेप धेरै बढेको भन्दै आफूहरु सम्बन्धित कार्यालयमा तालाबन्दीसहितको शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बाँदरझुला सुकुम्बासी संघर्ष समितिका अध्यक्ष राजकुमार चेपाङले स्वदेशलाई जानकारी दिनुभयो । हाल रोकिएका सबै योजनाहरु पुरा हुन दिनुपर्ने, बाँदरझुलामा खेतमा ट्रयाक्टर चलाउन दिनुपर्ने तथा माडीका सुकुम्बासीहरुको समस्या समाधान हुनुपर्ने लगायतका माग राखिएको उहाँको भनाई छ ।

SwadeshPost