बाढीजन्य जोखिम न्यूनिकरणमा नगरस्तरीय बिपद् व्यवस्थापन समितिकाे पूर्वतयारी

466
SwadeshPost

बर्षायाम सुरु भएसंगै माडी क्षेत्रमा बढ्ने बाढीजन्य जोखिम न्यूनिकरणका निम्ति माडी नगरस्तरीय बिपद् व्यवस्थापन समितिले पूर्वतयारी सुरु गरेको छ ।

समितिका संयोजक तथा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा बसेको सो समितिको बैठकले माडीका नौवटै वडामा रहेका जोखिमयुक्त स्थान तथा बिपद्को समयमा सुरक्षित रहन जानुपर्ने ठाउँहरुको स्थानहरुको पहिचान गरेको हो । त्यस्तै, माडीभर विभिन्न संघसंस्थाहरुमा रहेका खोज तथा उद्धार सामग्रीहरु संकलन गरी मध्य, पूर्व र पश्चिम गरी माडीका ३ स्थानमा राख्ने समेत निर्णय भएको छ ।

त्यसैगरी खोज तथा उद्धारकार्यका लागि सशस्त्र र नेपाल प्रहरी तथा गैर खाद्य सामग्रीको व्यवस्थापनका लागि माडीका चारवटै रेडक्रस उपशाखाहरुलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, सुचना, समन्वय र तथ्यांक अद्यावधिकका लागि माडी नगरपालिका, मनोसामाजिक परामर्शका लागि नगरपालिकाको सामाजिक विकास तथा स्वास्थ्य शाखा, खाद्य तथा राहतका लागि उद्योग वाण्ज्यि संघ माडी र नगर कृषि शाखा तथा सुरक्षा शिक्षाका लागि नगर शिक्षा शाखालाई जिम्मेवारी तोक्ने निर्णय भएको जनाइएको छ ।

समितिको बैठकले बिपद् उद्धारको तालिमप्राप्त शसस्त्र प्रहरी बलको सहयोगमा कृत्रिम अभ्यास गर्ने, नगरपालिकामा पूर्व सुचना प्रणाली व्यवस्थित गर्ने, नगरस्तरीय बिपद् राहत कोषलाई निरन्तरता दिने र वडास्तरीय बिपद व्यवस्थापन समितिहरुलाई अद्यावधिक गर्ने समेत निर्णय गरेको माडी नगरपालिका विपद ब्यवस्थापन समितिले जनाएको हो ।

SwadeshPost