

लामो अवधीको लकडाउनका कारण दैनन्दिन गुजारा गर्न कठिनाई व्यहोरिरहेका माडीका बिपन्न चेपाङ परिवारहरुलाई सामरी उत्थान सेवा नामक संस्थाले राहत वितरण गरेको छ । फ्लेम नेपालको सहयोगमा सामरीले माडी नगरपालिका वडा नं. ७, ८ र ९ मा बसिरहेका बिपन्न चेपाङ परिवारहरुलाई चामल, दाल, तरकारी, साबुन लगायतको राहत सामग्री प्रदान गरेको हो ।

गत असार १६ गतेदेखि चेपाङ बस्तीहरुमै पुगी सामरीले प्रति परिवार २० के.जी. चामल, २ के.जी. दाल, १ लिटर तेल र ६ वटा साबुन वितरण गरिरहेको हो । राहत वितरण कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्षको समेत उपस्थिति रहने गरेको छ । बृद्ध वा गर्भवती रहेका परिवारका लागि थप राहतको व्यवस्था रहेको सामरी उत्थान सेवामा कार्यरत शुष्मा सुनारले जानकारी दिनुभयो ।

