बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा

284
SwadeshPost

भगवान रामका सन्तानहरु लव र कुशको जन्म एवं क्रिडास्थल तथा महर्षि बाल्मीकिको आवासस्थलका रुपमा ख्यातिप्राप्त बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा परेको छ ।

आश्रम स्थलमा रहेको सीताको मन्दिरभित्र उहाँले पाताल प्रवेश गरेको स्थान छ भने वरिपरि लव-कुशले अश्वमेध यज्ञको घोडा पक्रिएर बाँधेको खम्बा, शिक्षा ग्रहण गरेको स्थान, पानी पिउने गरेको पुरानो इनार र अन्य पुरातात्विक अवशेषहरु भेट्न सकिन्छ । आश्रमस्थलमा सीताले मसला पिस्ने गरेको सिलौटो पनि सुरक्षित राखिएको छ भने अन्य देवीदेवताका मठमन्दिरहरु पनि रहेका छन् । महर्षि बाल्मीकिले रामायण लिपिबद्ध गरेको पावन स्थल बाल्मीकि आश्रम माडीको महत्वपूर्ण पर्यटकीय केन्द्र तथा धार्मिकस्थल रहेपनि माडीबाट त्यहाँसम्म पुग्न सिधा बाटोको उपलब्धता भने छैन ।

सो स्थानमा पुग्न पूर्व-पश्चिम राजमार्गको बर्दघाटबाट करिब २७ कि.मि. दक्षिण नवलपरासीको त्रिवेणी हुँदै जानुपर्छ । त्रिवेणीबाट डुंगामा नारायणी नदी तरेर पूर्वतर्फ करिब एक घन्टा जंगलको बाटो हिँडेपछि मात्र वाल्मीकि आश्रम पुग्न सकिन्छ । भैंसालोटन पुल तरेर विहारको वाल्मीकि नगरबाट जंगलभित्र करिब सात किलोमिटर यात्रा गरेपछि पनि आश्रम पुग्न सकिन्छ । तर सो मार्गबाट जाँदा बाटोमा भारतीय पक्षबाट झमेला व्यहोर्नुपरेको गुनासो सुनिन्छ । मध्य नेपालको चितवन जिल्लामा रहेर पनि यो पवित्र भूमिसम्म पुग्न कुनै स्थायी बाटो नहुँदा यात्रुहरु एवं पर्यटकहरुले सास्ती खेप्दै आएका छन् ।

SwadeshPost