बस्तीमा आगजनी तथा हात्ती लगाई क्षती पु-याएसंगै माडीका सुकुम्बासीहरु आक्रोशित

514
SwadeshPost

चितवन । चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोला निवासी सुकुम्बासीहरूको घरमा आगजनी तथा हात्ती लगाई क्षती पु-याएसंगै माडीका चेपाङ र सुकुम्बासीहरु आक्रोशित भएका छन् ।

निकुञ्जले शनिवार माडी-९, कुसुमखोला निवासी दाङ बहादुर प्रजा र दीप बहादुर चेपाङ्गको घरमा आगजनी गरिदिएको हो भने अन्य ८ वटा झुपडी घरहरु हात्ती लगाई भत्काई दिएको हो । आगलागीमा परी नागरिकता लगायतका कागजात र पैसा समेत जलेको र निकुञ्जको दादागरी अति बढेको भन्दै बाँदरझुला सुकुम्बासी संघर्ष समिति आक्रोशित भएको हो । समितिले यसअघि नै सहमतीको नाउँमा धोका भएको भन्दै नगरपालिका र माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिहरुको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिइसकेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र माडीका सुकुम्बासी तथा चेपाङ समुदायबिच माडी नगरपालिकाको रहोबरमा भएको वार्ताको मौखिक सहमती बिपरित निकुञ्जले बाँदरझुलाभित्र बाटो बनाउन अवरोध गर्न नछोडेको, खेतीपाती कार्यमा ट्रयाक्टर प्रयोग सहजिकरण नगरेको तथा नमुना चेपाङ बस्ती र बाटो निर्माण रोकेको र हाल सुकुम्बासीको घरमा आगजनी समेत गरेकाले कडा आन्दोलनमा उत्रनुको बिकल्प नरहेको समितिका संयोजक राजकुमार चेपाङले जनाउनुभयो । आगलागीको घटनालाई माडी नगरपालिकाले समेत निन्दा गरेको छ ।

SwadeshPost