माडीका नगरप्रमुख र दुई वडाध्यक्षहरु सहित पाँचजनाको बिरुद्धमा बेनामे उजुरी

498
SwadeshPost

चितवन । कुसुमखोलाबाट विस्थापित चेपाङ परिवारहरुलाई आवास निर्माणको योजना अगाडि बढाएका माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र दुई वडाध्यक्षहरु सहित पाँचजनाको बिरुद्धमा बेनामे उजुरी परेको छ ।

माडीका नगरप्रमुख ढकालसंगै माडी ७ का वडाध्यक्ष बालकृष्ण सापकोटा, माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदी, निकुञ्ज रक्षक बटुक दल गणका गणपति अरुण श्रेष्ठ र निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती बिरुद्ध वन फँडानी गरेको भन्दै बेनामे उजुरी परेको हो । राष्ट्रप्रेमी जनसमुदाय माडी नगरपालिकाको नाउँमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको कार्यालय भरतपुर तथा वन विभाग र वन मन्त्रालय काठमाडौंमा उजुरी हालिएको जानकारी आएको माडी नगरपालिकाका प्रवक्ता समेत रहनुभएको वडाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

उजुरीमा कुनै आधिकारिक सरकारी निकायको स्वीकृति बिना नमुना चेपाङ बस्ती निर्माणका लागि भन्दै साल, सिसौ, खयर, साज लगायतका रुखहरु कटानी गरिएको आरोप लगाइएको छ । आरोपीहरुलाई आर्थिक प्रलोभनमा परी विश्वसम्पदा सुचीमा सुचिकृत भएको निकुञ्जको वनजंगल फँडानी गरेकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुरुप १० बर्ष कैद र १० लाख सम्म जरिवाना गरिनुपर्ने माग गरिएको छ । निवेदकहरुको धनसम्पत्ती र जीउज्यानको सुरक्षामा खतरा रहेकाले निवेदकहरुको नाम ठेगाना गोप्य राखिएको पनि निवेदनमा उल्लेख गरिएको छ ।

SwadeshPost