सार्वजनिक सवारी साधनका यात्रु तथा यातायातकर्मीलाई अनिवार्य मास्क लगाउन अनुरोध

466
SwadeshPost

माडीमा सार्वजनिक सवारी साधनका यात्रु तथा यातायातकर्मीलाई अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरिएको छ ।लकडाउन हटेर सार्वजनिक सवारी साधन चल्न सुरु भएपनि कोरोना भाइरसको संक्रमण नघटेको अवस्थामा बसमा यात्रा गर्ने यात्रुहरु एवं बसका चालक तथा सहचालकहरुलाई अनिवार्य मास्क लगाउन र स्यानिटाइजर प्रयोग गर्न आग्रह गरिएको हो ।

बसन्तपुर बजार व्यवस्थापन समितिको आयोजना तथा विश्वास फार्मेसी बसन्तपुरको सहयोगमा बसन्तपुरमा एक संक्षिप्त कार्यक्रम आयोजना गरी सवारी साधनमा अनिवार्य मास्क लगाउन आग्रह गरिएको हो । कार्यक्रममा माडीका नगर उपप्रमुख ताराकाजी महतोसंगै यातायातकर्मी, सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी र बजारबासीहरु सहभागी रहेका थिए ।

यसअघि, यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका जारी गर्दै सबैले मास्क लगाएको हुनुपर्ने तथा यात्रु आफैँले स्यानिटाइजर बोकेको हुनुपर्ने जनाएको थियो । त्यसैगरी दैनिक रुपमा गाडीमा डिसइन्फेक्सन स्प्रे छर्किनु पर्ने, क्षमताभन्दा आधा यात्रु मात्रै बोक्नुपर्ने, यात्रुहरूले सामाजिक दुरी कायम गर्नुपर्ने र लामबद्ध भएर सवारी चढ्नुपर्ने नियम लगाएको थियो जसको निगरानी गर्ने जिम्मेवारी नेपाल प्रहरीमाथि छ ।

SwadeshPost