‘मौजुदा निकुञ्ज ऐनका कारण माडीमा सिर्जित समस्या अब धेरै समय नरहने’ : सुवेदी

631
SwadeshPost

चितवन । संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोतसाधन समितिका सभापति पूर्णाकुमारी सुवेदीले मौजुदा निकुञ्ज ऐनका कारण माडीमा सिर्जित समस्या अब धेरै समय नरहने बताउनुभएको छ ।

कुसुमखोला क्षेत्रको अगुगमनका लागि माडी आएको संसदीय टोलीद्वारा गोविन्दबस्तीमा सञ्चालित एक कार्यक्रमलाई सम्बोधन गदै पूर्व उपसभामुख समेत रहनुभएकी सुवेदीले निकुञ्ज ऐन शंसोधन हुने क्रममा रहेको जनाउनुभयो । सीमान्तकृत समुदायको संरक्षण गरी उनीहरुको शीपलाई आयआर्जनमा लगाउनुपर्ने र माडीलाई पर्यटकीय केन्द्र बनाउनुपर्ने उहाँको भनाई थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राजबहादुर बुढाले हाम्रै आवश्यकताका कारण निकुञ्ज घोषणा गरिएको भन्दै जरुरी परे खारेज गर्न पनि सकिने बताउनुभयो ।

छलफलमा सहभागी हुँदै चेपाङ नेता गोबिन्द चेपाङले मध्यवर्ती र निकुञ्जको आँखामा चेपाङहरुको मुल्य गँगटाजती पनि नभएको दुखेसो गर्नुभयो । त्यस्तै नेकपा माडीका सचिव नारदमणी पौडेलले मध्यवर्तीलाई निकुञ्ज क्षेत्र भनी गलत प्रचार गरिएको जनाउनुभयो । छलफलमा बोल्दै माडीका चेपाङ अगुवा जगराम चेपाङले बगहीँमा पोष्ट बनाउने क्रममा निकुञ्ज आफैले कयौं रुख कटानी गरेको तर कोहि नबोलेको उजागर गर्नुभयो । त्यसैगरी वडाध्यक्ष शिवहरि सुवेदीले निकुञ्जको सीमांकन निश्चित हुनुपर्ने माग उठाउनुभयो ।

SwadeshPost