एक साता बितिसक्दा पनि माडीका मध्यवर्ती कार्यालयहरुको ताला खुलेन

443
SwadeshPost

माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका कार्यालयहरुमा तालाबन्दी भएको एक साता बितिसक्दा पनि समस्या समाधान वा वार्ताको कुनै पहल सुरु हुन सकेको छैन ।

माडीका सुकुम्बासी, चेपाङ तथा बाढीपिडीत समुदायले गत श्रावण १८ गते नाराबाजी सहित चारवटै मध्यवर्ती कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए । हालसम्म निकुञ्ज पक्षबाट कसैले कुनै सम्पर्क नभएको सुकुम्बासी आन्दोलनका अगुवा राजकुमार नेपालीले जनाउनुभयो । उता, निकुञ्जका नवनियुक्त प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले आफू भर्खरैमात्र कार्यभार सम्हाल्न आएको भन्दै समस्या समाधानको पहल अगाडि बढाउने बताउनुभयो ।

निकुञ्जले गत श्रावण ३ गते माडी ९, कुसुमखोलाका २ घरमा आगजनी र ८ वटा घरहरु हात्ती लगाई भत्काएको बिरोधमा क्षतीपूर्ति र दोषीलाई कारवाहीको माग गर्दै मध्यवर्ती कार्यालयहरुमा तालाबन्दी गरेको आन्दोलनरत पक्षको भनाई छ । त्यस्तै चेपाङ समुदायको आवास निर्माण कार्य सुचारु हुनुपर्ने तथा बाँदरझुला र बाढीपिडीत बस्ती व्यवस्थापन गरिनुपर्ने लगायतका माग समेत राखिएको बाँदरझुला बस्ती व्यवस्थापन समितिका संयोजक राजकुमार चेपाङको भनाई छ ।

SwadeshPost