

बाँदरझुला सुकुम्बासी संघर्ष समितिले बस्ती व्यवस्थापनको माग राखी आन्दोलन सुरु गरेको आधा दशक वितिसक्दा पनि समस्या समाधानको सुरुवात समेत हुन सकेको छैन ।

बाँदरझुला बस्ती उठाउन चितवन राष्ट्रिय निकुञ्जले ३५ दिने सुचना जारी गरेको सन्दर्भमा आजभन्दा ठीक ४ बर्षअघि बाँदरझुलावासीहरुले तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेका थिए । भेटमा तात्कालीन प्रधानमन्त्री प्रचण्डले आउने क्याबिनेट मिटिङमै बाँदरझुला बस्ती व्यवस्थापनको बिषय टुंगोमा पु-याउने बताउनुभएको थियो । सो भेटका कारण निकुञ्जको ३५ दिने सुचना रद्द हुनुबाहेक बाँदरझुलाबारे क्याबिनेटमा कुनै प्रस्ताव टेबुल भएन र कुनै निर्णय समेत हुन सकेन ।

हाल बाँदरझुला, कुसुमखोला र माडी उपत्यकाका भूमिहीन सुकुम्बासी, बाढीपिडीत र चेपाङ समुदाय आन्दोलनमा छ । उनीहरुले बस्ती व्यवस्थापनसंग सम्बन्धित १५ बुँदे माग राखी माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । तर तालाबन्दी खुलाउने सन्दर्भमा पनि कुनै पनि पक्षबाट छलफल वा वार्ताको पहल सुरु भएको छैन । र बाँदरझुला, कुसुमखोला, पौहारी लगायतका सुकुम्बासी बस्तीका समस्याहरु जस्ताको त्यस्तै छन् ।
