निकुञ्जभित्र भूमिगत लाइनमा समस्या आएपछि माडीको विद्युत सेवा पुनः बन्द

261
SwadeshPost

निकुञ्जभित्र बिछ्याइएको भूमिगत लाइनमा समस्या आएपछि माडीको विद्युत सेवा पुनः बन्द भएको छ । तर भूमिगत केबुलमा समस्या रहेको स्थान पत्ता लगाउने ‘फल्ट एलोकेटर मेसिन’ चितवनमै नरहेकाले लाइन सुचारु गराउन कम्तीमा दुई दिन लाग्ने भएको छ ।

चनौली जगतपुर माडी ३३ केभी सब प्रशारण लाइन अन्तरगत निकुञ्जभित्र केबुल बिग्रिएको चनौली वितरण केन्द्रका प्रमुख ई. शिशिर लम्सालले जानकारी दिनुभयो । हाल नेपालगञ्जमा रहेको फल्ट एलोकेटर मेसिन आइतबार बिहान चितवनका लागि प्रस्थान गर्ने र साँझसम्म मेसिन आइपुगेपछि फल्ट रहेको स्थान पत्ता लगाई केबुल मर्मत गर्ने उहाँले बताउनुभयो ।

माडीमा विद्युत लैजान चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युत लाइन भूमिगत गरिएको छ । त्यसको सात ठाउँमा ज्वाइन्टहरू छन् । ती ठाउँहरुमा पटक पटक समस्या आउने गरेको छ । पटक पटक विद्युत अवरुद्ध हुँदा माडीका विद्युत उपभोक्ताहरुसंगै प्राधिकरणका कर्मचारीहरुले समेत सास्ती भोग्दै आएका छन् ।

SwadeshPost